सुनमा ‘फिनिसिङ’ नल्याउँदा बुबाले मलाई ‘भकुन्डे’ भनेर जिस्क्याउनु हुन्थ्योः राजुकाजी शाक्य, पूर्वफुटबल खेलाडी

नेपालको पूर्वी जिल्ला धरानमा जन्मिनुभएका राजुकाजी शाक्यले करिब १५ वर्षको उमेरबाट स्थानीय र क्षेत्रीय प्रतियोगिताहरू मार्फत व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभयो। नेपालको फुटबल इतिहासमा खेलाडी, क्याप्टेन र प्रशिक्षकको भूमिकामा रहँदा दक्षिण एसियाली खेलकुदमा तीन फरक भूमिकामा स्वर्ण पदक जिताएर नेपालको फुटबल इतिहासमा ऐतिहासिक रेकर्ड राख्नुभएका शाक्य अहिले पनि खेल क्षेत्रको उन्नयनका लागि तल्लीन हुनुहुन्छ।

सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक, त्यसको करिब ९ वर्षपछि सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा कप्तानका रूपमा दोस्रो स्वर्ण पदक र सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा नेपालको पुरुष फुटबल टोलीलाई मुख्य प्रशिक्षकको रूपमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउन उहाँको अतुलनीय भूमिका रहेको थियो।

सन् १९८१ देखि सन् १९९७ सम्म अर्थात् करिब १७ वर्ष राष्ट्रिय टिमबाट खेल खेल्नुभएका उहाँ सन् १९९१ देखि ९७ सम्म अर्थात् करिब ६ वर्ष टोलीको कप्तानीको भूमिकामा रहनुभयो। ९१ अन्तर्राष्ट्रिय म्याच खेल्दै नेपालका लागि सबैभन्दा बढी क्याप जित्ने खेलाडीको समेत रेकर्ड बनाउनुभएका शाक्यले नेपालका प्रतिष्ठित क्लबहरूबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो। शाक्यले बंगलादेशको लिगमा पनि फुटबल खेल्नुभएको थियो।

खेलाडी जीवनबाट सन्यास लिएपछि उहाँ फुटबल प्रशिक्षण र व्यवस्थापनमा सक्रिय हुनुहुन्छ। सन् १९९२ मा वर्षको उत्कृष्ट खेलाडी, सन् १९९६ मा एन्फाबाट रूपक उत्कृष्ट खेलाडी अवार्ड र सन् २००५ मा एन्फाबाटै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभएका उहाँ आफ्नो खेल जीवनको आधा शताब्दी बिताउनुभएको व्यक्तित्व हुनुहुन्छ। आज हामीले उहाँसँग फिफा विश्वकपको माहोल, उहाँको फुटबल करियर, नेपालको फुटबलको इतिहास, वर्तमान र भविष्य लगायतका विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौं।

तपाईंको खेल जीवनको इतिहासबाटै कुराकानी गरौं जस्तो लागेको छ। तपाईं पूर्वी नेपालको धरानमा जन्मिनुभयो, त्यहींबाट तपाईंले स्थानीय स्तरका फुटबल हुँदै तपाईं क्षेत्रीय लेभल र राष्ट्रिय लेभलसम्म खेल्नुभयो । एउटा खेलाडीको रूपमा, प्रशिक्षकको रूपमा र क्याप्टेनको रूपमा तपाईंले नेपाललाई तीनवटा स्वर्ण पदक प्राप्त गराउने भूमिका खेल्नुभएको छ। यस्तो व्यक्तित्वको खेल जीवनबारे धेरैलाई चासो हुन्छ । कुराकानीको सुरुवात यहिँबाट गरौँ जस्तो लाग्यो ।

प्रश्नका लागि धन्यवाद, धरानमा फुटबल खेलको माहोल थियो । ब्रिटिश आर्मीहरुको पनि माहोल भएका कारण पनि जहाँ हेर्यो फुटबल मात्रै खेलिराख्ने एकदम फुटबल क्रेज थियो । अर्को कुरा म अध्ययनरत विद्यालयमा प्राय स्पोर्ट्समा बढी ध्यान दिइन्थ्यो । स्पोर्ट्स भन्दा अरू इभेन्ट्सहरू पनि जस्तै डान्स, गीत गाउने, यस्तो प्रोग्राम पनि भइराख्थ्यो। हाम्रो विद्यालयमा खुला ठाउँ पनि थियो। जहाँ डल्लो भेट्यो कि हानिहाल्ने गथ्र्यौ । हामी गल्लीहरुमा फुटबल खेल्थ्यौँ तर त्यहिबेला फुटबल नहुँदा हामी मोजाको डल्लो, कागजको डल्लो, जे–जे भेटिन्छ त्यहि खेल्थ्यौँ । कति पटक त भोगटेको पनि गोल बनाएर खेल्यौँ ।

हामीभन्दा धेरै सिनियर दाइहरू हुनुहुन्थ्यो । त्योसँगै मेरो मामा बिन्दु शाक्य पनि एकदम राम्रो खेलाडी हुनुहुन्थ्यो । हामी त्यहि माहोलमा खेल्दै–खेल्दै हुर्किंदै गयौँ । हामी दाइहरुले बल खेलेको ठाउँमा जान्थ्यौा । उहाँहरूले हानेको बल ‘आउट’ गयो भने त्यो बल लिएर एक सट मात्रै हान्न पायौं भने पनि दंग परेर बस्थ्यौँ । माध्यामिक तहमा आइसकेपछि म राम्रो फुटबल प्लेयर बनेको थिएँ । अरू इभेन्ट्स पनि राम्रो खेल्थेँ, टेबलटेनिस नम्बर वान, भलिबल त त्यस्तै राम्रो खेल्थेँ।

विद्यालयमा वीरेन्द्र रनिङ शिल्डहरू, टूर्नामेन्टहरू भइराख्थ्यो । बिस्तारै दाइहरूसँग नजिक हुन थाल्यौं र खेल्दै–खेल्दै अघि बढ्यौँ । धरानमा दाइहरुको राम्रो टिम थियो । त्यसैले मैले कहिल्यै धरान–११ बाट फस्ट टिमबाट खेल्न पाइनँ। जहिले पनि म सेकेन्ड टिममा थिएँ। उहाँहरूको प्रेरणाबाट मैले अझै मेहेनत गरेँ र तराईतिर गाउँ–गाउँ उतातिर खेल्न थालें। कलेज बढ्न थाल्दा मेरो राम्रो भैसकेको थियो । कलेजमा इन्टर कलेज गेम हुन्थ्यो । इन्टर कलेजमा सहभागी भएर हामी फाइनलसम्म पुगेर जित निकाल्यौँ ।

मेरो परिवार सुनको काम गथ्र्यो । त्यहि भएर पनि होला परिवारले छोरोले खेलमा भन्दा व्यवसायमा बढी ध्यान दिओस् भन्ने थियो । बुबाले जहिल्यै खेलेर केही पनि छैन, स्कोप छैन, खुट्टा भाँचियो भने के गर्छस् ? भनेर भन्नुहुन्थ्यो । परिवार पनि मेरो खेलप्रतिको रुचिमा त्यति खुशी थिएन । मलाई परिवारले सुनको काममा लगाउनुहुन्थ्यो मेरो ध्यान खेलमा थियो । त्यहि भएर सुनको काम गर्दा ‘फिनिसिङ’ नै नहुने । त्यतिबेला बुवाले मलाई ‘भकुन्डे’ भनेर जिस्क्याउनु हुन्थ्यो ।

त्यसपछि खेल यात्रा कसरी अघि बढ्यो ?

त्यसपछि गणेश क्षेत्री जनकपुर चुरोट कारखानाको राम्रो प्लेयर हुनुहुन्थ्यो। उहाँले ‘तिमी जस्तो योङ प्लेयर त हामीलाई चाहिन्छ’ भनेर मलाई साथमा लिनुभयो । म घरबाट विदा मागेर एउटा सानो झोला बोकेर लाउरे जस्तो गरेर जनकपुर चुरोट कारखानामा जागिर खान गएँ । त्यहाँ गएर हामीले फ्रेन्डली म्याच राख्यौं। फ्रेन्डली म्याचमा हाम्रो गेम राम्रो देखिसकेपछि त्यहाँको जीएमले पनि ‘ल यो टिम चाहिँ खत्रै रहेछ, राख्नै पर्छ’ भन्नुभयो । त्यसपछि अझ मेरो जागिर पक्का भयो । त्यहाँबाट विस्तारै करियर बनाउँदै अघि बढे । काठमाडौंमा प्रथम राष्ट्रिय खेलकुद भयो, २०३८ सालमा। त्यो गेममा जनकपुर अञ्चल थर्ड भयौं। थर्ड भइसकेपछि त्यतिबेला श्री ५ महाराजधिराजबाट मेडल थाप्यौं। त्यसपछि हामी फर्कियौँ । फर्केको केही दिनमा काठमाडौंबाट ‘राजु शाक्य नेसनल टिममा पर्यो’ भनेर चिठी आयो ।

त्यतिबेला तपाईँले कस्तो महशुस गर्नुभयो ?

मलाई थाहा थिएन, म बसिरहेको थिएँ, जीएम साहबले बोलाउनुभयो। अनि, ‘ल बधाई छ’ भन्नुभयो । के–को बधाई मलाई थाहा भएन। ‘ल तिमी नेसनल टिममा पर्यौ’ भन्नुभयो । नेसनल टिममा पर्छु भनेर नसोको मलाई त्यो खवरले एकदम उत्साहित बनायो । त्यतिबेला नेशनल टिम गभर्नर गोल्ड कप खेल्न सिक्किम जाँदै थियो । मलाई ‘तिमी ढल्केबरमा आएर बस, त्यहाँ हामी चाहिँ लिन आउँछौं’ भनेर भनेपछि थप खुशी भएँ । बिहान ५ बजे आउने गाडी, म ९ बजे जनकपुरबाट रिक्सामा चढेर ढल्केबर आइसकेको थिएँ । गाडी छुट्छ भनेर त्यहाँ आएर रातभरि नसुति बसेँ । उहाँहरु आउनुभयो म मनभरी उत्साह बोकेर उहाँहरुसँगै लागे ।

अनि त्यसपछिको फुटबल करियर ?

मैले सन् १९८१ देखि १०९७ सम्म राष्ट्रिय टिममा बसेर खेले । नेशनल टिममा परेपछि मैले कहिल्यै फर्केर हेर्नु परेन। मैले जति समय नेशनल टिमबाट खेलेँ, निरन्तर इमान्दारी, अनुशासित र एकदम मेहनतका साथ खेले ।

सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा खेलाडीको रुपमा स्वर्ण पदक जिताउँदाको पल कस्तो थियो ?

मैले त्यो खेल भन्दा अगाडि धेरै ‘इन्टरनेसनल म्याच’ खेलिसकेको थिएँ। साफ गेममा इन्जुरीका कारण पहिलो गेम खेल्न सकिएन । फाइनलमा ४–२ ले हामीले स्वर्ण पदक जित्यौं। जितेपछि जर्मन कोचले मलाई यस्तो अंगालो माऱ्यो ।

त्यो बेलामा हामी अब वर्ल्ड कपमा खेल्न सक्छौं भन्ने खालको आत्मबल कस्तो थियो ?

त्यो बेला हामीले विश्वकप खेल्ने कहिल्यै सोचेनौँ । त्यस्तो स्ट्यान्डर्ड हाम्रो थिएन पनि हामीले जति खेले पनि, राम्रो रिजल्ट गरे पनि। इन्भाइरोमेन्ट राम्रो थियो तर आर्थिक स्थितिमा हामी कमजोरी थियौं त्यो बेला ।