कांग्रेसको १५औँ महाधिवेशन सर्‍यो, असोज १८ देखि हुने

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन दुई दिन पछि सरेको छ । अब महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सोमबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएकाले महाधिवेशनको मिति सारिएको जानकारी दिनुभएको हो ।

यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । पार्टीको अधिवेशन प्रक्रिया अन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको कांग्रेसले जनाएको छ ।

भारी वर्षाका कारण विभिन्न क्षेत्रमा अधिवेशनका कार्यक्रम प्रभावित भएपछि बाँकी अधिवेशन प्रक्रिया सम्पन्न गर्न समय आवश्यक परेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका अनुसार १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *