मौलिक बाजा वादनमा महिलालाई प्रोत्साहित गर्न ‘मिसा गुंला बाजं’ वादन आयोजना हुने

परम्परागत बाजा वादनमा महिलाको सहभागिता

काठमाडौँ, ११ असोजः परम्परागत बाजा वादनमा महिलाको सहभागिता बढाउँदै मौलिक सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले आगामी असोज २४ गते राष्ट्रिय सभागृहमा महिलाको ‘गुँला बाजं’ वादन कार्यक्रम आयोजना हुने भएको छ।

काठमाडौँ महानगरपालिका १८ को आयोजनामा ङत तुलाधर समिति गुंला बाजं उपसमितिको व्यवस्थापनमा ‘निक्वःगु मिसा गुंला बाजं ब्वज्या’ आयोजना गर्न लागिएको हो। कार्यक्रममार्फत नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा तथा बाजा वादन संस्कृतिको संरक्षणसँगै त्यसको पुस्तान्तरणमा महिलाको भूमिकालाई थप सशक्त बनाउने लक्ष्य राखिएको छ।

वडाले आज आयोजना गरेको पत्रकार साक्षात्कारमा वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा महिलाको सहभागिता बढाउन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार यो कार्यक्रमको दोस्रो संस्करण हो। पहिलो संस्करणमा १२ वटा समूहको सहभागिता रहेको थियो।

वडाध्यक्ष महर्जनले परम्परागत बाजाका गुरुहरूलाई सम्मान गर्दै आए पनि हालसम्म सम्मानित हुने गुरुहरूमा महिला नरहेको उल्लेख गर्दै महिला बाजा गुरुहरूलाई समेत सम्मान गर्न पाउने दिनको प्रतीक्षामा रहेको बताउनुभयो। उहाँले हराउँदै, लोप हुँदै वा प्रयोगमा कमी आएर पुस्तान्तरण हुन नसकेका परम्परागत बाजा वादनलाई महानगरपालिकाले पुनर्जीवित गर्ने प्रयास गरिरहेको जानकारी दिनुभयो।

“येँयामा काठमाडौँका स्थानीयले बजाउने गरेको तर विगत २५ वर्षदेखि स्थानीयले बजाउन छोडेको म्वाःली बाजाको प्रशिक्षण दिएर यस वर्ष पुनःस्थापित गरेका छौँ,” उहाँले भन्नुभयो, “वडास्तरबाट सशक्तीकरण, संरक्षण र संवद्र्धनका काम भइरहेका छन्।”

गुँला बाजं संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष अमीरमान शाक्यले गुँला बाजा बजाउने समूहको सङ्ख्या १७ बाट बढेर २५ पुगेको जानकारी दिनुभयो। उहाँले बाजा वादनमा सहभागी महिलाको सङ्ख्यामा भने उल्लेख्य वृद्धि हुन नसकेको बताउँदै काठमाडौँ महानगरपालिकाबाट प्राप्त सहयोगमा समुदायस्तरमा बाजाको प्रवद्र्धन सुरु गरिएको जानकारी दिनुभयो।

नेपालमा महिलाले बाजा बजाउने अभ्यास नयाँ नभए पनि विगतमा विभिन्न सामाजिक तथा सांस्कृतिक कारणले महिलाको सहभागिता सीमित रहेको बताइएको छ। वि.सं. २०५६ सालदेखि महिलाले समेत गुँला बाजं बजाउने अभ्यास सुरु गरेको आयोजकको भनाइ छ।

गत वर्ष साउन ३१ गते ‘न्हापांगु मिसा गुंलाबाजं ब्वज्या ११४५’ आयोजना गरिएको थियो। उक्त कार्यक्रमले महिला बाजा कलाकारलाई थप प्रोत्साहन मिलेको र विभिन्न स्थानमा गुँला बाजं बजाउने महिलाको सहभागिता बढ्दै गएको ङत तुलाधर समिति गुंला बाजं उपसमितिका संयोजक दिपकरत्न तुलाधरले जानकारी दिनुभयो।

यस वर्षको कार्यक्रमलाई थप बृहत् बनाउँदै महिला बाजा कलाकारसँगै विभिन्न गुँला बाजं समूह, सांस्कृतिक अभियन्ता र सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न परम्परागत बाजा तथा नेवारी सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ।

पत्रकारको प्रश्नको जवाफ दिँदै वडाध्यक्ष महर्जनले वर्तमान समय समानता र समावेशिताको भएकाले महिलालाई सांस्कृतिक क्षेत्रमा पनि समान अवसर दिनुपर्नेमा जोड दिनुभयो। महिलाको सहभागितालाई नारामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्दै उनीहरूको कला, प्रतिभा र क्षमतालाई उजागर गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।

गुँला बाजं नेवार समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्पराका रूपमा लिइन्छ। महिलाको सहभागितासहित आयोजना हुने कार्यक्रमले यस परम्पराको संरक्षण, संवद्र्धन र पुस्तान्तरणमा योगदान पुग्ने आयोजकको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *