बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता
बागलुङ, ११ असोज । अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा बागलुङमा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो।
यस्तै, तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही पहिरोमा परी हस्तविर श्रीपालीकी श्रीमती बेपत्ता भएकी छन्।
यसैगरी, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो।
बेपत्ता महिलाको खोजी तथा घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
