जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्

काठमाडौँ, १५ असोजः जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन्।

जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला ७० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा पुनम भारतीय खेलाडी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनका आधारमा पराजित भएकी हुन्।

यससँगै जुडोमा नेपालले सहभागिता जनाएको सातमध्ये पाँच विधामा पराजय व्यहोरेको छ। यसअघि हिजो भएको प्रतिस्पर्धामा नेपालका चार खेलाडी पहिलो चरणबाटै बाहिरिएका थिए।

महिला ५२ केजीमुनि तौल समूहमा देवकीमाया श्रेष्ठ भियतनामकी थि नगान हासँग पराजित भएकी थिइन्। यस्तै, महिला ४८ केजीमुनि निशा श्रेष्ठ हङकङकी वङ का लीसँग पराजित भएकी थिइन्।

पुरुषतर्फ ६६ केजीमुनि विशेष विक हङकङका वङ का कीसँग तथा ६० केजीमुनि विकास विक उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भएका थिए।

नेपालका लागि जुडोमा आज सुजन गुरुङले पुरुष ९० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। यसैगरी, नेपालले मिक्स टिमतर्फ पनि प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *