देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न: सुदूरपश्चिममा उत्साहजनक प्रगति, मधेश र कोशीमा सुस्त गति

काठमाडौँ, ३१ असार । नेपालको मुख्य खाद्यान्न बाली धानको रोपाइँ यस वर्ष मध्य असारसम्म आइपुग्दा ५० प्रतिशतको लक्ष्यमा पुगेको छ। कृषि विभागका अनुसार चालू आर्थिक वर्षका लागि निर्धारण गरिएको कुल १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६ लाख ८२ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको हो।

विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार, यस वर्ष रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ। “गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो,” महानिर्देशक कोइरालाले भन्नुभयो, “यस वर्ष मनसुनको सुरुवाती सक्रियता र भौगोलिक वितरणमा आएको भिन्नताका कारण १० प्रतिशतको गिरावट देखिएको हो।”

विभागीय तथ्याङ्क अनुसार प्रदेशगत रूपमा रोपाइँको अवस्थामा ठूलो भिन्नता देखिएको छ:
सुदूरपश्चिम प्रदेश: सबैभन्दा बढी ८७ प्रतिशत रोपाइँ सम्पन्न गरी अग्रस्थानमा रहेको छ।
गण्डकी प्रदेश: ६५.९ प्रतिशत।
कर्णाली प्रदेश: ६० प्रतिशत।
लुम्बिनी प्रदेश: ५९ प्रतिशत।
बागमती प्रदेश: ५७.१ प्रतिशत।

मुलुकको ‘अन्न भण्डार’ मानिने मधेश र कोशी प्रदेशमा भने रोपाइँको अवस्था चिन्ताजनक रूपमा सुस्त देखिएको छ। मधेशमा ३२.७ प्रतिशत र कोशीमा मात्र ३२ प्रतिशत रोपाइँ भएको छ। पूर्वी र दक्षिण नेपालमा मनसुनको ढिलाइ वा सिँचाइ सुविधाको अभावले गर्दा यी क्षेत्रमा राेपाइँ हुन नसकेको हाे ।

हाल देशभर मनसुनी वर्षा सक्रिय रहेकाले आगामी एक साताभित्र रोपाइँको प्रतिशतमा उल्लेख्य वृद्धि हुने विभागको अपेक्षा छ। “अहिले भइरहेको वर्षाले किसानहरूलाई उत्साह दिएको छ,” विभागले भनेको छ, “यदि बाढी, पहिरो वा अन्य कुनै ठूला प्राकृतिक विपद् नआएमा रोपाइँको कार्य थप तीव्र गतिमा अघि बढ्नेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *