जीर्ण बाँधले रौतहटका बस्ती बाढीको उच्च जोखिममा

रौतहट, १ साउन । मनसुनको सक्रियतासँगै रौतहट भएर बग्ने दुई प्रमुख नदी, वाग्मती र लालबकैयाको तटबन्ध जीर्ण हुँदा जिल्लाका एक दर्जनभन्दा बढी स्थानीय तह बाढी र डुबानको गम्भीर जोखिममा परेका छन्। दशकौँ पुराना र कमजोर प्राविधिक संरचनाका कारण बर्सेनि हुने तटबन्ध कटान बाँध फुट्ने समस्याले सदरमुकाम गौरसहितका बस्तीहरूमा मानवीय र आर्थिक सङ्कट निम्त्याउँदै आएको छ।

पछिल्लो साता भएको वर्षाका कारण लालबकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी पसेपछि जनजीवन प्रभावित भइसकेको छ। जल–मौसमविद्हरूका अनुसार लालबकैयाको तटबन्ध असुरक्षित हुँदा कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर र गौर नगरपालिका प्रत्यक्ष जोखिममा छन्।

यसैगरी, वाग्मती नदीको पश्चिमी तटबन्ध कमजोर हुँदा दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका तटीय बस्तीहरू उच्च जोखिममा रहेका छन्। गत वर्ष मात्रै वाग्मतीको बाढीले यस क्षेत्रमा करोडौँ मूल्य बराबरको धानबाली र भौतिक पूर्वाधार नष्ट गरेको तथ्याङ्क छ।

सम्भावित विपद्लाई मध्यनजर गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल नेतृत्वको सुरक्षा टोलीले बिहीबार दुवै नदीका अति–संवेदनशील क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। टोलीले राजदेवी नगरपालिका–३ स्थित वाग्मतीको क्षतिग्रस्त बाँध र परोहा नगरपालिका–३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन संरचनाकाे अवस्थाबारे प्राविधिक जानकारी लिएको छ।

निरीक्षणपछि प्रजिअ भुसालले क्षतिग्रस्त भागको तत्काल आकस्मिक मर्मत गर्न र निर्माणाधीन संरचनालाई द्रुत गतिमा सम्पन्न गर्न सम्बन्धित आयोजना र प्राविधिकहरूलाई कडा निर्देशन दिनुभएको छ।

निरीक्षण टोलीमा नारायण दल गणका गणपति विश्वास विष्ट, जिल्ला प्रहरी प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी सहभागी हुनुहुन्थ्यो। सुरक्षा निकायहरूले ‘र्यापिड रेस्पोन्स’ का लागि जनशक्ति र उद्धार सामग्रीलाई ‘स्ट्यान्ड बाइ’ अवस्थामा राखेका छन्। प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई ‘अर्ली वार्निङ सिस्टम’ (पूर्वसूचना प्रणाली) प्रति सजग रहन र जोखिम देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न अपिल गरेको छ।