सिन्धु साहित्य सङ्गमको चौधौँ शृङ्खला सम्पन्न

काठमाडौँ, २ साउन । नेपाली साहित्यको प्रवर्द्धन र स्रष्टाहरूबीचको निरन्तर संवादलाई प्राथमिकता दिँदै ‘सिन्धु साहित्य सङ्गम’को चौधौँ सिर्जना वाचन शृङ्खला शुक्रबार साँझ भर्चुअल माध्यमबाट सफलतापूर्वक सम्पन्न भएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) आयोजित यस कार्यक्रममा विभिन्न विधाका स्रष्टाहरूले आफ्ना मौलिक रचनाहरू प्रस्तुत गरेका थिए।

वरिष्ठ साहित्यकार गोपाल कुमार मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता सङ्गमका संयोजक एवं साहित्यकार डा. कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ले गर्नुभएको थियो। कार्यक्रममा सिन्धुपाल्चोक र आसपासका स्थापित कविहरू जगन्नाथ आचार्य, रापि वाशिष्ठ (राजेन्द्र प्रसाद भट्टराई), त्रिलोचन आचार्य, रमेश प्रसाद पौडेल, शिवप्रसाद पौडेल, राधिका सापकोटा, धनपति भण्डारी, लक्ष्मण तिमल्सिना, विष्णुहरि भण्डारी, शान्ता दाहाल र दीपेन्द्र श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवाती चरणमा कवि शान्ता दाहालले ‘गुरु’ शीर्षकको कवितामार्फत श्रद्धा अर्पण गर्नुभयो। राधिका सापकोटाले ‘साउन र संस्कृति’ तथा त्रिलोचन आचार्यले ‘आत्मदाहको विपक्षमा अपील’ शीर्षकका अनुष्टुप छन्दका कविताहरू प्रस्तुत गर्नुभयो। विशेष गरी आचार्यको कविताले पछिल्लो समय समाजमा देखिएका आत्मदाहका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको थियो।

शिवप्रसाद पौडेलले ‘असार’, धनपति भण्डारीले ‘म मान्छे मेरो जन जाति’, लक्ष्मण तिमल्सिनाले ‘म भित्र’, राजेन्द्र प्रसाद भट्टराईले ‘कल्पना’ र वरिष्ठ कवि जगन्नाथ आचार्यले ‘म किसान कवि’ शीर्षकका कविता वाचन गर्नुभयो। रमेश पौडेलले चोटिला मुक्तकहरू प्रस्तुत गर्नुभएको थियो। विष्णुहरि भण्डारीले सुमधुर गजल सुनाउनुभयो भने दीपेन्द्र श्रेष्ठले सामाजिक विषयवस्तुमा आधारित लघुकथा प्रस्तुत गर्नुभयो।

प्रमुख अतिथि गोपाल कुमार मैनालीले प्रस्तुत रचनाहरूको सूक्ष्म विश्लेषण गर्दै समीक्षात्मक टिप्पणी राख्नुभयो। उहाँले रचनाहरूमा नवीनता र शिल्पको प्रशंसा गर्दै शब्द चयन र भाव सम्प्रेषणमा थप परिष्कार ल्याउन स्रष्टाहरूलाई प्राविधिक सुझाव समेत दिनुभयो।

कार्यक्रमका अध्यक्ष डा. भारद्वाज मित्रले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रविधिको प्रयोगले भौगोलिक दूरी रहे पनि साहित्यिक एकता सम्भव भएको बताउनुभयो। प्रत्येक महिनाको पहिलो शुक्रबार सञ्चालन हुने यस शृङ्खलाको आगामी (१५औँ) कार्यक्रम भदौ महिनाको पहिलो शुक्रबार आयोजना गरिने जानकारी सञ्चालक त्रिलोचन आचार्यले दिनुभयो।

डिजिटल प्लेटफर्ममार्फत नियमित रूपमा सञ्चालन भइरहेका यस्ता साहित्यिक शृङ्खलाले नेपाली वाङ्मयको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। विशेष गरी समसामयिक सामाजिक मुद्दा लाई छन्दोबद्ध काव्यमा उतार्नुले साहित्य समाजको ऐना हो भन्ने तथ्यलाई पुनः पुष्टि गरेको छ।