जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, ३ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई संसद्मा परम्परागत विरोधभन्दा माथि उठेर तथ्य, तर्क र अनुसन्धानमा आधारित बहस गर्न निर्देशन दिनुभएको छ।
पार्टीको केन्द्रीय संसदीय विभागद्वारा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘विज्ञतामा आधारित संसदीय अभ्यास’मा जोड दिनुभएको हो। अध्यक्ष ओलीले संसद्मा जनसरोकारका मुद्दा उठाउँदा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्नुभयो। “बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र होइन,” ओलीले भन्नुभयो, “एमालेको दशकौँको राजनीतिक अनुभवलाई विज्ञहरूको ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतासँग जोडेर संसद्मा एउटा नयाँ र दूरदर्शी मानक स्थापित गर्न आवश्यक छ।”
उहाँले सांसदहरूलाई कुनै पनि विधेयक वा समसामयिक विषयमा बोल्नुअघि त्यसको गहिरो अध्ययन गर्न र प्रमाणका आधारमा सरकारलाई जवाफदेही बनाउन सुझाव दिनुभयो। यस्तो कार्यशैलीले मात्र लोकतान्त्रिक अभ्यास थप सशक्त र परिणाममुखी हुने उहाँको दाबी छ।
प्रशिक्षण कार्यक्रममा एमालेका शीर्ष नेतृत्वले विभिन्न विषयमा सांसदहरूलाई दीक्षित गरेका थिए। उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, र संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले संसदीय प्रक्रिया, नीति निर्माणमा दलको अडान र प्रभावकारी सञ्चारका विषयमा प्रशिक्षण दिनुभएको थियो।
विशेष गरी, संसद्मा प्रस्तुत हुने जटिल कानुनी र आर्थिक मुद्दाहरूमा कसरी पार्टीको दृष्टिकोण स्पष्ट रूपमा राख्ने र जनमतलाई आफ्नो पक्षमा पार्ने भन्ने विषयमा सांसदहरूलाई रणनीतिक सुझाव दिइएको थियो।