पूँजी बजारमा उत्साह: नेप्से ४१ अङ्कले बढ्दा १९ दिनपछि परिसूचक २७०० को विन्दु माथि

काठमाडौँ, ४ साउन । धितोपत्र बजारमा लगानीकर्ताको मनोबल उच्च देखिँदा साताको पहिलो कारोबार दिन सोमबार परिसूचकमा उल्लेख्य सुधार आएको छ। लगातार पाँचौँ कारोबार दिनको वृद्धि कायम राख्दै नेप्से परिसूचक १९ कारोबार दिनपछि पुनः २७०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि उक्लिएको हो।

आज नेप्से परिसूचक ४१.७० अङ्क (१.५६ प्रतिशत) ले वृद्धि भई २७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकसँगै बजारका अन्य महत्वपूर्ण सूचकहरूमा पनि हरियाली छाएको छ । आज सेन्सेटिभ इण्डेक्स: ४.२२ अङ्कले बढेकाे छ भने फ्लोट इण्डेक्स: २.३९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स: १.४६ अङ्कले वृद्धि भएकाे छ ।

परिसूचकसँगै बजारको आयतनमा पनि सकारात्मक सुधार देखिएको छ। गत शुक्रबार ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३४३ कम्पनीको १ करोड २२ लाख ४५ हजार कित्ता सेयर रु ५ अर्ब ५१ करोड २६ लाख ८८ हजारमा किनबेच भएको छ ।

आजको बजारमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई ‘सकारात्मक सर्किट’ लागेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता ३७२ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै, रिज लाइन इनर्जीको मूल्य साढे १४ प्रतिशत र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको करिब ११ प्रतिशतले बढेको छ। अर्कोतर्फ, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ६.८६ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी २९ करोड १५ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो। रिलायन्स स्पिनिङ मिल्स (२४.५ करोड) र रिडी पावर डेभलपमेन्ट (२०.५ करोड) पनि सक्रिय स्टकका रूपमा देखिए।

कारोबारमा आएका १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूह मात्र सामान्य अङ्कले घटेको छ।