त्रिविमा एमबिएस प्रश्नपत्र चुहावट प्रकरणमा दुई जना पक्राउ, छानबिन समिति गठन
काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको स्नातकोत्तर तह (एमबिएस) प्रथम सेमेष्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
गत साउन ८ गते सञ्चालित ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको पाँच मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोले प्रश्नपत्र बाहिर पठाउने ‘सुलभ सर’ भनिने मुख्य आरोपितसहित दुई जनालाई नियन्त्रणमा लिएको शिक्षा तथा खेलकुद मन्त्रालयको सचिवालयले जनाएको छ।
यस घटनामा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताउनुभयो।
मध्याह्न १२:०० बजे परीक्षा सुरु हुनासाथ १२:०५ बजेतिर १ हजार २३ जना सदस्य आबद्ध रहेको ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा प्रश्नपत्र पठाइएको पाइएको थियो। ह्वाट्सएपमा ‘सुलभ सर’ भनिएका व्यक्तिले प्रश्नपत्र पठाएपछि अन्य समूह सदस्यले उत्तर (सोलुसन) समेत मागेको र आगामी अर्थशास्त्र (इकोनोमिक्स) को परीक्षामा पनि प्रश्नपत्र बाहिर पठाइदिन आग्रह गरेको स्क्रिनसटहरू बाहिरिएका थिए। फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ ले यसको स्क्रिनसट सार्वजनिक गर्दै त्रिविको ध्यानाकर्षण गराएको थियो।
प्रश्नपत्र बाहिरिएलगत्तै व्यवस्थापन सङ्कायका सहायक डीन डा. भरत राईले शनिबार नै साइबर ब्युरोलाई आधिकारिक रूपमा पत्राचार गरी ह्वाट्सएप समूहमा संलग्न व्यक्ति, संस्था तथा परीक्षा केन्द्रको पहिचान गरी कानुनी कारबाही गर्न अनुरोध गर्नुभएको थियो।
यसैबीच, परीक्षा सञ्चालक समितिले यस घटनाको निष्पक्ष छानबिनका लागि आइतबार तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सह-प्रा.डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सह-प्रा.डा. महेशराज ओझा सदस्य हुनुहुन्छ। समितिलाई सत्यतथ्य निरूपण गरी सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।