अमेरिकाद्वारा इरानविरुद्धको सैन्य कारबाही स्थगित, कारणबारे फरक–फरक दाबी

एजेन्सी, १० साउन । संयुक्त राज्य अमेरिकाको सेनाले इरानविरुद्ध सञ्चालन गरिरहेको सैन्य कारबाही स्थगित गरेको छ। यद्यपि, यो आक्रमण रोकिनुको वास्तविक कारणबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले फरक–फरक विवरणहरू सार्वजनिक गरेका छन्।

अमेरिकी समाचार संस्था सीएनएनले पेन्टागनको एक उच्च स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ। यद्यपि, यो कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे स्रोतले विस्तृत खुलाएको छैन।

अर्कोतर्फ, सीबीएस न्युजले क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै ओमानको एक कूटनीतिक प्रतिनिधिमण्डलले ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलमार्ग) पुनः खुला गर्ने विषयमा वार्ता गर्न तेहरानको भ्रमण गर्न लागेकाले उक्त वार्तामा अवरोध नहोस् भनेर अमेरिकाले आक्रमण स्थगित गरेको दाबी गरेको छ।

यसैगरी, द न्युयोर्क टाइम्सले भने अमेरिकी सैनिक सल्लाहकारहरूले वायु रक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार रित्तिँदै गएको चेतावनी दिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही थप विस्तार गर्ने योजना स्थगित गर्नुभएको जनाएको छ। अमेरिकी सेनाका संयुक्त प्रमुख कर्मचारी समितिका अध्यक्ष डान केनले थप व्यापक सैन्य कारबाही सञ्चालन गरिए अमेरिकी सेन्ट्रल कमान्डसँग रहेका इन्टरसेप्टर क्षेप्यास्त्रहरू पूर्ण रूपमा सकिन सक्ने चेतावनी दिनुभएको समाचारमा उल्लेख छ।

विवरणअनुसार अमेरिकाले हालसम्म इरानविरुद्धको यस सैन्य कारबाहीका क्रममा एक हजार २०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्रयोग गरिसकेको छ। अत्यधिक महँगो मानिने यी प्रत्येक इन्टरसेप्टरको उत्पादन लागत ४० लाख अमेरिकी डलरभन्दा बढी पर्ने सुरक्षा अधिकारीहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *