कप्तानगन्जमा कर्फ्युको उल्लङ्घन गर्दै बिहानैदेखि प्रदर्शन: विभिन्न क्षेत्र तनावग्रस्त, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सुनसरी, ११ साउन । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ। प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको छ।

आइतबार रातिको झडप रोक्ने क्रममा प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य ९ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि जिल्लाका पाँच संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। तर, प्रदर्शनकारीहरूले कर्फ्युको उल्लङ्घन गर्दै बिहानैदेखि प्रदर्शन जारी राखेपछि कप्तानगन्ज क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीहरूले सुनसरीको सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा समेत बजार बन्द गराएर टायर बाली प्रदर्शन गरिरहेका छन्। सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार सडकमा टायर बालेर अवरोध सिर्जना गरिएपछि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

झडप र प्रहरी कारबाहीका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन कप्तानगन्ज र आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो सङ्ख्या परिचालन गरिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई घर बाहिर ननिस्कन तथा कुनै पनि सभा–जुलुस र प्रदर्शन नगर्न अपिल गरेको छ।