बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन : सबैलाई समान व्यवहार गर्न माग

काठमाडौँ, ११ साउन । सहकारी संस्थाहरूमा जम्मा गरेको आफ्नो बचत फिर्ताको माग गर्दै पीडितहरूले पुनः काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ को नेतृत्वमा भेला भएका पीडितहरूले आफूहरूलाई तत्काल न्याय दिन सरकारसँग माग गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले साना र ठुला बचतकर्ताबीच कुनै भेदभाव नगरी सबैलाई सम्मानजनक र समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले ‘पीडितलाई न्याय दे’, ‘सहकारी पीडितलाई फुटाउने षडयन्त्र बन्द गर’, ‘हाम्रो बचत फिर्ता गर’ र ‘छिटो न्याय दे’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

पीडितहरूले ऋणीहरूबाट रकम असुल उपर गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । आन्दोलनकारीले यो अभियान विशुद्ध पीडितहरूको साझा मञ्च भएको बताउँदै यसमा कुनै पनि राजनीतिक दल वा बाह्य घुसपैठ स्वीकार्य नहुने र पीडितकै नेतृत्वमा आन्दोलन अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

आफ्ना मागहरू तत्काल सम्बोधन नभए दुई दिने ध्यानाकर्षण र्‍यालीपछि थप सशक्त आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् । लामो समयदेखि सहकारीको बचत फिर्ता नपाउँदा धेरै बचतकर्ताहरूको जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।