सुनसरीमा अनिश्चितकालीन कर्फ्यु : पकलीदेखि कोशी ब्यारेजसम्मको राजमार्ग र इनरुवा बजार क्षेत्र ठप्प
इनरुवा, १२ साउन । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक झडपपछि जिल्लाका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना बढ्न थालेपछि स्थानीय प्रशासनले मुख्य राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
देवानगञ्जमा दुई समुदायबीचको झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनावका कारण आज दिनभर विरोध प्रदर्शनहरू भएका छन्। प्रदर्शन उग्र बन्दै गएपछि शान्ति सुरक्षा कायम गर्न प्रशासनले सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्मको मुख्य राजमार्ग र इनरुवाको मुख्य बजार क्षेत्रमा कर्फ्यु लगाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको छ। देवानगञ्ज क्षेत्रमा भने हिजोदेखि नै कर्फ्यु आदेश कायमै छ।
कर्फ्यु जारी भएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा वा बैठक गर्न र घेराउ गर्न नपाउने गरी निषेध गरिएको छ। प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न र साम्प्रदायिक सद्भाव खलल पुग्ने खालका गतिविधि नगर्न सबैमा अपिल गरेको छ। आदेशको उल्लङ्घन गर्नेमाथि कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।