बिर्तामोडको आकाशमा रकेट र चन्द्रयान : विद्यालयमा ४० लाखको लागतमा आधुनिक ‘रोबोटिक्स ल्याब’ सुरु

झापा, १३ साउन । झापाको बिर्तामोडस्थित एक विद्यालयको प्राङ्गण सोमबार कुनै विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान देखियो । विद्यार्थीहरू आफ्नै आँखाअगाडि सररर उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानका नमुना देखेर चकित परे । किताबका पानामा मात्र सीमित रहने विज्ञान र प्रविधिको संसारलाई बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलले प्रदर्शनीमार्फत प्रत्यक्ष अनुभव गराएको हो ।

भारतको प्रतिष्ठित ‘एरोबे’ कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी, अभिभावक र स्थानीयवासीले आधुनिक प्रविधिको कौतुकपूर्ण अभ्यास अवलोकन गरे । ‘एरोबे रोबोटिक्स’ को प्रयोगात्मक प्रदर्शनीअन्तर्गत आकाशमा रकेट र चन्द्रयानका नमुना उडाइएको थियो ।

यसै अवसरमा विद्यालयले करिब ४० लाख रुपैयाँको लगानीमा निर्माण गरेको ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को समेत औपचारिक उद्घाटन गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष एवं राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद् भट्टराईले संयुक्त रूपमा प्रयोगशालाको उद्घाटन गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष बस्नेतले परम्परागत शिक्षा प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको बताउनुभयो । “हाम्रा विद्यार्थीलाई केवल प्रविधिको प्रयोगकर्ता मात्र होइन, नयाँ प्रविधिको सिर्जना गर्ने क्षमतावान् बनाउनु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो, “यो ल्याबले विद्यार्थीहरूको कल्पनाशक्तिलाई व्यवहारमा उतार्न मद्दत गर्नेछ ।”

प्रमुख अतिथि डा. शरद् भट्टराईले आधुनिक शिक्षामा गरिएको यस्तो लगानीले विद्यार्थीलाई विश्वबजारका चुनौतीको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार यो प्रयोगशालाले विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षामा प्रत्यक्ष जोड्दै अनुसन्धान र नवप्रवर्तनमा प्रोत्साहन गर्नेछ ।

प्रयोगशालामा विद्यार्थीहरूले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, डिजाइन थिङ्किङ र स्वचालन प्रविधि जस्ता व्यावहारिक सीपहरू सिक्न पाउने विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले जानकारी दिनुभयो । सहायक प्रधानाध्यापक रोजीना कार्कीले नेपालमै पहिलोपटक प्रतिष्ठित ‘एरोबे कम्पनी’ सँगको सहकार्यमा यस्तो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको दाबी गर्नुभयो । कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा अब विद्यार्थीले तहगत रूपमा रोबोटिक्स र इलेक्ट्रोनिक्सका विभिन्न परियोजनामा सहभागी भई आफ्नो सृजनात्मक क्षमता निखार्ने अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *