बैंकिङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
काठमाडौँ, १४ साउन । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा फरार रहेका चार जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई आज विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
नेपाल राष्ट्र बैंकको पत्रका आधारमा शशिधर शर्मा समेत संलग्न रहेको बैंकिङ कसुर सम्बन्धी मुद्दामा उनीहरू फरार रहेका थिए। पक्राउ पर्नेहरूमा बैतडीकी रश्मी पन्त, गुल्मीका सन्तोष ज्ञवाली र राजेन्द्र श्रेष्ठ तथा रूपन्देहीका शिशिर पौडेल रहेका छन्।
सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पछिल्लो समय सिआइबीले बैंकिङ कसुर र आर्थिक अपराधमा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र पारेको छ।