आज मानव बेचबिखनविरुद्ध विश्व दिवस, प्रविधिमा आधारित आधुनिक बेचबिखन मुख्य चुनौती
काठमाडौँ, १४ साउन । आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ ‘मानव बेचबिखनविरुद्ध विश्व दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१३ डिसेम्बर १८ मा यो दिवस घोषणा गरेपछि सन् २०१४ देखि प्रत्येक वर्ष जुलाई ३० मा संसारभर यो दिवस मनाउन थालिएको हो।
मानव बेचबिखन रोकथाम, पीडितको संरक्षण तथा अन्तरदेशीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ यो दिवस मनाउन प्रारम्भ गरिएको हो। यस वर्ष यो दिवस ‘ठगीको जालभित्र थुनिएका’ भन्ने मूल नाराका साथ मनाइँदै छ।
राष्ट्रसङ्घले हालका वर्षहरूमा अन्तरदेशीय सङ्गठित अपराध समूहहरूले मानिसलाई प्रलोभनमा पारी जबर्जस्ती अनलाइन वित्तीय ठगी र साइबर अपराधमा प्रयोग गर्ने मानव बेचबिखनको नयाँ र तीव्र रूपमा फैलिँदै गएको स्वरूपप्रति विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छ।
आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानिसहरूलाई अर्को मुलुक पुर्याउने र त्यहाँ गैरकानुनी ‘स्क्याम सेन्टर’ मा बन्दी बनाई क्रिप्टोकरेन्सी ठगी तथा अन्य वित्तीय अपराध सञ्चालन गर्न बाध्य पार्ने गरिएको राष्ट्रसङ्घले जनाएको छ। पीडितहरूलाई निरन्तर निगरानी, हिंसा, धम्की र ऋणको भारमा राखी अत्यधिक कार्यदबाब दिइने भएकाले उनीहरू उम्किन वा मद्दत माग्न नसक्ने अवस्थामा पुग्ने गरेका छन्।
संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) का अनुसार पूर्वी तथा दक्षिणपूर्वी एसियामा मात्र सन् २०२३ मा यस्ता साइबर ठगीका कारण करिब १८ देखि ३७ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको अनुमान छ। युएनओडिसीले यस क्षेत्रमा पीडितको उद्धार, कानुनी अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन प्राविधिक सहयोगका साथै कानुनी सुधारमा सदस्य राष्ट्रहरूलाई सहयोग गर्दै आएको छ।
सन् २०२४ को डिसेम्बरमा राष्ट्रसङ्घको महासभाले स्वीकार गरेको साइबर अपराधसम्बन्धी महासन्धिले अनलाइन ठगी र प्रविधिमा आधारित सङ्गठित अपराधविरुद्धको सीमापार अनुसन्धानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। यसले विद्युतीय प्रमाण सङ्कलन र आदानप्रदानलाई सहज बनाउँदै आपराधिक सञ्जालविरुद्धको अनुसन्धानलाई बलियो पार्ने विश्वास गरिएको छ।
युएनओडिसीले यस दिवसका अवसरमा पीडितको संरक्षण, कानुनी निकायहरूबीच सीमापार सहकार्य र मानव बेचबिखन सञ्जाल चलाउने आपराधिक समूहविरुद्ध समन्वित कारबाहीलाई तीव्रता दिन अन्तर्राष्ट्रिय समुदायलाई विशेष आह्वान गरेको छ।