चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम

काठमाडौँ, १६ साउन । नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा प्राकृतिक प्रकोपको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही दक्षिण र पूर्वी नेपालमा सरदर स्थानको आसपासमा अवस्थित छ । अहिले देशभरको मौसममा साधारणतया बदली रहेको छ भने बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । विशेष गरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । तराईका जिल्लाहरूमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभरको मौसममा सुधार हुने देखिँदैन । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । देशका अन्य भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा जारी रहने देखिन्छ ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य, पर्यटन र पर्वतारोहण समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ । महाशाखाले नागरिकहरूलाई विभागको पछिल्लो मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन समेत अनुरोध गरेको छ ।