पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ : एकको उद्धार
काठमाडौँ, असार १६ । पोखरा महानगरपालिका-१८ चिसाखोलास्थित विभिन्न खाजाघरहरूमा बालिकालाई प्रलोभनमा पारी अनैतिक कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले चारजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई लक्षित गरी विभिन्न प्रलोभन देखाएर अनैतिक क्रियाकलापमा लगाउने गरेको सूचना प्राप्त भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले दिनुभएको जानकारी अनुसार, पक्राउ परेका चारैजना विरुद्ध ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले सोही क्षेत्रबाट एकजना बालिकाको उद्धार समेत गरेको जनाएको छ । कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बालिकाहरूलाई शोषण गर्ने गिरोहमाथि प्रहरीले निगरानी बढाएको छ ।