विश्व स्तनपान सप्ताह आजदेखि सुरु : स्तनपान प्रवर्धनका लागि प्रभावकारी नीति र अभ्यासमा जोड

काठमाडौँ, साउन १६ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय र नागरिक समाजको संयुक्त प्रयासमा आजदेखि ‘विश्व स्तनपान सप्ताह’ सुरु भएको छ । प्रत्येक वर्ष अगष्ट महिनाको पहिलो साता विश्वभर यो सप्ताह मनाउने गरिन्छ ।

यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपान :  प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने मुख्य नाराका साथ यो अभियान सञ्चालन गरिएको छ । यस अभियानले आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल र सरकारी नीतिमार्फत आवश्यक सहयोग उपलब्ध गराउँदै स्तनपानलाई जीवनको अभिन्न अङ्ग बनाउन जोड दिएको छ ।

स्तनपानको महत्त्व र फाइदा
डब्ल्युएचओका अनुसार स्तनपान शिशुको स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा सरल र प्रभावकारी उपाय हो । यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, गम्भीर संक्रमणबाट जोगाउन र मस्तिष्कको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

शिशुलाई मात्र नभई स्तनपानले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । नियमित स्तनपानले आमाहरूमा स्तन र डिम्बाशयको क्यान्सर तथा ‘टाइप-२’ मधुमेहजस्ता नसर्ने रोगहरूको जोखिम न्यून गर्ने अध्ययनले देखाएको छ ।

विश्वव्यापी अवस्था र सुधार
पछिल्लो दशकमा विश्वभर स्तनपानको दरमा सकारात्मक सुधार देखिएको छ । तथ्याङ्क अनुसार सन् २०१२ मा ३७ प्रतिशत रहेको ६ महिनासम्मको ‘पूर्ण स्तनपान’  को दर हाल ४७ प्रतिशत पुगेको छ । दुई वर्षसम्म स्तनपान गराउने बालबालिकाको अनुपात ३८ प्रतिशतबाट वृद्धि भई ५० प्रतिशत पुगेको छ ।

यी उपलब्धिहरूका बाबजुद न्यून आय भएका, द्वन्द्व प्रभावित र मानवीय सङ्कटमा रहेका क्षेत्रमा स्तनपानसम्बन्धी सेवा अझै पहुँचबाहिर रहेको डब्ल्युएचओ र युनिसेफले जनाएका छन् ।

लगानी र प्रतिफलको आकलन
स्तनपान प्रवर्द्धनका लागि गरिने लगानी अत्यन्तै फलदायी हुने देखिएको छ । स्तनपान सेवाको विस्तार गर्न सके वार्षिक ४ लाख बालबालिका र १ लाख ४० हजार आमाको अकाल मृत्यु रोक्न सकिने डब्ल्युएचओको अनुमान छ । आर्थिक दृष्टिकोणले स्तनपानमा गरिने प्रत्येक १ अमेरिकी डलर लगानीले स्वास्थ्य उपचार खर्चमा कमी र भविष्यको आम्दानीमा सुधारमार्फत ५९ अमेरिकी डलर बराबरको प्रतिफल दिने आकलन गरिएको छ ।

आगामी कार्यदिशा
सप्ताहको अवसरमा डब्ल्युएचओ र युनिसेफले सबै राष्ट्रहरूलाई स्तनपानमैत्री वातावरण निर्माण गर्न, स्वास्थ्य संस्थामार्फत दक्ष परामर्श र समुदायमा आधारित सेवा विस्तार, सशुल्क प्रसूति बिदा र स्तनपानमैत्री कार्यस्थल सुनिश्चित, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूधको अनियन्त्रित विज्ञापन र प्रवर्द्धनमाथि कडा नियन्त्रण, गर्भावस्था र प्रसूतिपछिका स्वास्थ्य सेवासँग स्तनपानलाई एकीकृत गर्न अनुरोध गरेका छन् । 

विश्व स्तनपान सप्ताहले प्रत्येक शिशुले जीवनको उत्कृष्ट सुरुवात पाउने अधिकार र प्रत्येक आमाले आवश्यक सहयोग पाउने वातावरण निर्माणका लागि सरकार, रोजगारदाता र समुदायलाई साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ ।