बाढीपहिरो र सडक कटानले मुलुकका विभिन्न राजमार्ग अवरुद्ध, बिपी र कान्ति लोकपथमा रात्रिकालीन यात्रामा रोक
काठमाडौँ, १६ साउन । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र सडक कटानले मुलुकका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै वर्षाका कारण उत्पन्न जोखिमले सडक आवागमन प्रभावित भएको जनाएको हो ।
प्रहरीका अनुसार सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० देखि बिहान ४:०० बजेसम्म र कान्ति लोकपथमा बेलुका ५:०० देखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेकाले सडक पूर्ण रूपमा ठप्प छ । त्यस्तै पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित सडकखण्ड वर्षाका कारण हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ भने लामासाँघु–रामेछाप सडक अन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात सेवा प्रभावित भएको छ ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।