सुनसरी झडपमा घाइते भएका थप एक युवकको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या दुई पुग्यो
सुनसरी, १४ साउन । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको झडपका क्रममा गोली लागेर घाइते भएका थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार मृत्यु हुनेमा कप्तानगन्जका २१ वर्षीय जयप्रकाश मेहता रहेका छन्। पेटमा गोली लागेर गम्भीर घाइते भएका मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। मृतक मेहता पेशाले सिटी सफारी चालक हुन्।
यसअघि आइतबार रातिको घटनामा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भइसकेको थियो। योसँगै सुनसरी झडपमा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ।