फ्रान्समा सन् २०२६ इतिहासकै सबैभन्दा तातो गर्मी रेकर्ड: दुई हजारभन्दा बढीको मृत्यु

 

पेरिस  ।  फ्रान्सले सन् २०२६ को गर्मी याम (Summer) लाई इतिहासकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड गरेको छ। सन् १९०० देखि तापक्रम मापन सुरु भएयताकै यो सबैभन्दा उच्च तापमान हो। फ्रान्ससँगै बेल्जियम, बेलायत र आयरल्याण्डले पनि यस वर्ष अत्यधिक गर्मी महसुस गरेका छन्।

फ्रान्सेली वातावरण मन्त्री मोनिका बारबुटले बिहीबार जलवायु प्रतिवेदन सार्वजनिक गर्दै भन्नुभयो, “हामीले सन् १९०० मा मापन सुरु भएयताकै सबैभन्दा तातो गर्मी याम भोगेका छौँ। यो वर्षको गर्मीले इतिहास रचेको छ।”

गर्मीका कारण मानवीय क्षति र डढेलो
यस वर्ष फ्रान्सले धेरै पटक ‘लु’ (Heatwave) को सामना गर्‍यो। स्वास्थ्य मन्त्री स्टेफनी रिस्टका अनुसार अत्यधिक गर्मीका कारण देशभर २,०२५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ४५ वर्षभन्दा माथिका व्यक्तिको संख्या उच्च रहेको छ।

जुन महिनाको अन्त्यमा सुरु भएको गर्मीले तीव्रताको नयाँ रेकर्ड कायम गरेको थियो भने जुलाईदेखि अगस्टसम्म लगातार २३ दिनसम्म तापक्रम उच्च विन्दुमा रह्यो। यो सन् १९८३ को रेकर्डसँग बराबर हो। अत्यधिक गर्मी र सुख्खायामका कारण फ्रान्सका चिसो र ओसिलो मानिने क्षेत्रहरूमा समेत यस पटक भीषण डढेलो लागेको थियो।

जलवायु तथ्याङ्क र खडेरी
राष्ट्रिय मौसम एजेन्सी ‘मेटियो फ्रान्स’ का अनुसार यस वर्ष औसत तापक्रम २४ डिग्री सेल्सियस (७५ फरेनहाइट) रेकर्ड गरिएको छ, जुन सामान्य औसतभन्दा ३.६ डिग्री सेल्सियसले बढी हो। वर्षातमा झण्डै ४० प्रतिशतले कमी आएका कारण यो वर्ष सन् १९०० यताकै दोस्रो ठूलो खडेरीको वर्ष समेत बनेको छ।

वातावरण मन्त्री बारबुटले प्रश्न गर्नुभयो, “अब हामीले आफैँलाई सोध्नुपर्ने बेला आएको छ— के यो रेकर्ड तोड्ने गर्मीको एउटा लामो शृङ्खलाको सुरुवात हो? वा हरितगृह ग्यास उत्सर्जन घटाएर हामीले यस चुनौतीलाई सामना गरेको क्षणका रूपमा यसलाई सम्झिनेछौँ?”

युरोप: तीव्र गतिमा तातिरहेको महाद्वीप
युरोपेली संघको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ का अनुसार युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महाद्वीप हो। सन् १९८० को दशकदेखि यता युरोपको तापक्रम विश्वको औसत वृद्धि दरभन्दा दोब्बर गतिले बढिरहेको छ।

फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले वातावरण मन्त्रालयलाई जलवायु परिवर्तन अनुकूलन योजनालाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ। सरकारले आगामी सेप्टेम्बरको अन्त्यसम्ममा जलवायु संकट न्यूनीकरणका लागि पाँच वर्षे लगानी योजना सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *