सरकारसँगको सहमतिपछि पनि साम्य भएन विराटनगर : चोक–चोकमा टायर बालेर प्रदर्शन, बजार ठप्प

विराटनगर, १५ साउन । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडप र प्रहरीको गोली लागेर भएको मृत्युको विरोधमा आज कोशी प्रदेशको राजधानी विराटनगरमा तनावपूर्ण प्रदर्शन भएको छ । सरकार र पीडित परिवारबीच आज बिहान मात्रै ७ बुँदे सहमति भए पनि विराटनगरको स्थिति भने अझै साम्य हुन सकेको छैन ।

गत आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर आज बिहान गृह मन्त्रालयमा भएको वार्तामा मृतकलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति दिने लगायतका सहमति भएको थियो । सहमति पश्चात् आजै दिउँसो मृतकहरूको अन्त्येष्टि गर्ने तयारी भइरहेका बेला विराटनगरमा भने आक्रोशित समूहले प्रदर्शन सुरु गरेका हुन् ।

प्रदर्शनकारीहरूले विराटनगरका विभिन्न चोकहरूमा टायर बालेर विरोध जनाएका छन् । प्रदर्शनका कारण बिहानैदेखि विराटनगरका मुख्य बजार, पसल र व्यापारिक प्रतिष्ठानहरू बन्द रहेका छन् भने यातायात सेवा समेत पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकमा सवारी साधन चल्न नसक्दा सर्वसाधारण र यात्रुहरू मर्कामा परेका छन् ।

यसैबीच, बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आज दिउँसो ३:०० बजे साम्प्रदायिक सद्भाव कायम राख्न ‘सद्भाव र्‍याली’ निकाल्ने निर्णय गरेको थियो । तर, केही व्यक्ति र समूहले भने अहिलेको स्थितिमा सद्भाव र्‍याली निकाल्नु हतार हुने भन्दै त्यसको समेत विरोध गरेका छन् ।

विराटनगरमा हुन सक्ने थप झडप वा अप्रिय घटनालाई मध्यनजर गर्दै ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रशासनले सबैलाई संयम अपनाउन र साम्प्रदायिक सद्भाव खलल पुग्ने गतिविधि नगर्न अपिल गरेको छ ।