चार दिनको गिरावटपछि नेप्सेमा सुधार, कारोबार रकम पौने ४ अर्ब नजिक
काठमाडौँ, १५ साउन । साताको अन्तिम कारोबार दिन शुक्रबार धितोपत्र बजारमा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ ।
विगत चार कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको बजारमा आज भने झिनो सुधार देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर २ हजार ६ सय ८५ दशमलव ५४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै ठुला कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४४ अङ्कले बढेको छ ।
बजार परिसूचकमा सुधार आएसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ३३७ कम्पनीको ८८ लाख ५१ हजार कित्ता सेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । यो अघिल्लो दिनको तुलनामा करिब ३७ करोड रुपैयाँले बढी हो ।
आजको कारोबारमा हालै सूचीकृत भएको एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७० रुपैयाँ ७० पैसाले बढेर १ हजार ३०९ रुपैयाँ ३० पैसा पुगेको छ । यस्तै लक्ष्मी भ्यालु फण्ड २ को इकाई मूल्य ८ प्रतिशत र जोशी हाइड्रोपावरको सेयर मूल्य करिब ७ प्रतिशतले बढेको छ । यता बोटलर्स नेपाल (तराई) को सेयर मूल्यमा भने ५ दशमलव ३३ प्रतिशतको गिरावट देखिएको छ ।
रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै ग्लोबल आइएमई बैङ्कको १५ करोड र सेन्ट्रल फाइनान्सको करिब १५ करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचकमा सामान्य गिरावट देखिएको छ । बाँकी सबै उपसमूहमा हरियाली छाउँदा लगानीकर्तामा केही उत्साह देखिएको छ ।