बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक: आज ३ बजेसम्म बोलकबोल हुने

काठमाडौँ, २२ साउन । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनका लागि उक्त परिमाणको निक्षेप सङ्कलन गर्न लागेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार यस बोलकबोलमा सहभागी हुन चाहने इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्न ३:०० बजेसम्म आवेदन दिनुपर्नेछ । लगानीकर्ताले राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम मार्फत मात्र आफ्नो बोलपत्र पेस गर्न सक्नेछन् ।

यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । निक्षेप सङ्कलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई पहिलो प्राथमिकता दिइनेछ । यदि समान ब्याजदरमा मागभन्दा बढी रकमको आवेदन परेमा प्रो–राटा (आनुपातिक) आधारमा बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ ।

सहभागीले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल गर्दा १० करोडले भाग जाने अंकमा हुनुपर्नेछ । यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २२ गते हुनेछ । यो निक्षेप रकमलाई सम्बन्धित बैंकले अनिवार्य नगद मौज्दात (एसएलआर) र तरलता अनुपातमा गणना गर्न पाउनेछन्, तर यसलाई लगानी पोर्टफोलियोमा भने राख्न पाइने छैन ।

सङ्कलित निक्षेप रकम भुक्तानी मितिअघि प्रि–म्याच्योर (समयअगावै) भुक्तानी हुने छैन । अहिले बैंकहरूमा निक्षेप थुप्रिने तर कर्जा प्रवाह सुस्त हुने अवस्था रहेकाले बजारमा ब्याजदर धेरै तल झर्न नदिन राष्ट्र बैंकले निरन्तर तरलता प्रशोचनकार्य गरिरहेको छ ।