साताको अन्तिम दिन नेप्सेमा ४ अंकको गिरावट: कारोबार रकम पौने ४ अर्बमा खुम्चियो
काठमाडौँ, २२ साउन । साताको अन्तिम कारोबार दिन शुक्रबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.०५ अंकले ओरालो लागेर २६५०.०९ विन्दुमा झरेको हो।
नेप्सेसँगै आज अन्य प्रमुख सूचकहरू पनि राताम्मे भएका छन्। सेन्सेटिभ इण्डेक्स १.१६ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंकले घटेका छन्।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट देखिएको छ। बिहीबार ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँमा खुम्चिएको छ। आज कुल १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन्।
आजको बजारमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले बढेर प्रतिसेयर ५ हजार ९९६ रुपैयाँ पुगेको छ। त्यस्तै, एचएलआई लार्ज क्याप र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाई मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।
यता, अप्पर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ६.९३ प्रतिशतले गिरावट आएको छ।
कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३९ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, रिडी पावर कम्पनीको २३ करोड र सानिमा बैंकको १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक घटेको छ भने मात्र ४ उपसमूहको सूचक बढेको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल, हाइड्रोपावर, बीमा र अन्य उपसमूहका लगानीकर्ताले आज गुमाएका छन्।