स्वास्थ्य बिमा कार्यान्वयनमा भरतपुर अस्पतालको फड्को: एक वर्षमा एक अर्ब भुक्तानी प्राप्त, सेवाग्राहीको उच्च चाप
चितवन, २२ साउन । चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा एक अर्ब रुपैयाँभन्दा बढी भुक्तानी प्राप्त गरेको छ । अस्पताल प्रशासनका अनुसार गत आर्थिक वर्षको छ महिना र अघिल्लो वर्षको बाँकी बक्यौता गरी कुल रु १ अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त भएको हो ।
देशभरका सरकारी अस्पतालहरूमध्ये स्वास्थ्य बिमा कार्यक्रममार्फत सबैभन्दा बढी बिरामीलाई सेवा दिने अस्पतालको रूपमा भरतपुर अस्पताल अग्रपंक्तिमा रहेको छ । स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा मात्रै अस्पतालले बिमामार्फत ४ लाख ९३ हजार ४४९ पटक सेवा प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/७५ देखि सुरु भएको यस कार्यक्रममार्फत हालसम्म १९ लाख ७० हजार ३५२ पटक सेवा प्रवाह भइसकेको छ भने सो वापत कुल रु ३ अर्ब ४८ करोड ६ लाख २० हजार १६२ भुक्तानी प्राप्त भएको छ ।
अस्पतालको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन २४सै घण्टा कर्मचारी परिचालन गरी दाबी भुक्तानीको कामलाई व्यवस्थित गरिएको छ । यहाँको कार्यशैली र व्यवस्थापन पक्ष अध्ययन गर्न देशका अन्य अस्पतालहरूबाट समेत टोलीहरू आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा आउने कुल बिरामीमध्ये करिब ७० प्रतिशत स्वास्थ्य बिमाका हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिमा र अन्य सबै बिरामीलाई सहज र छिटो सेवा दिन हामीले अनलाइन टिकेटिङ, नगद काउन्टर थप, र शल्यक्रियाको पालो घटाउने जस्ता सुधारात्मक कार्यहरू गरिरहेका छौँ ।”
अस्पतालमा पछिल्लो समय बिरामीको चाप अत्यधिक बढ्दो छ । गत मङ्गलबार एकै दिन बहिरङ्ग (ओपिडी) सेवामा ३ हजार ७५१ जना बिरामी आएकोमा २ हजार ९४८ जना स्वास्थ्य बिमाका बिरामी रहेका थिए । चितवनसहित आसपासका २२ जिल्लाबाट बिरामीहरू उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् । सेवालाई थप प्रविधिमैत्री र सहज बनाउँदै भरतपुर अस्पतालको स्वास्थ्य बिमा योजनालाई देशभरकै नमूना कार्यक्रमको रूपमा स्थापित गर्ने लक्ष्य अस्पताल प्रशासनले लिएको छ ।