‘हरित उत्सव’ : महिलाको नेतृत्वमा दिगो चाडपर्व र वातावरण संरक्षणको नयाँ पाइला

काठमाडौँ, साउन २३ ।  ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा आजदेखि ‘हरित उत्सव’ अभियानको भव्य शुभारम्भ गरिएको छ, जसले हाम्रा परम्परागत चाडपर्वहरूलाई वातावरणमैत्री र जिम्मेवार बनाउने नयाँ चेतनाको सञ्चार गरेको छ । ‘हरित उत्सवः परिवर्तनको नेतृत्व महिलाको हातमा’ भन्ने मूल नाराका साथ सुरु भएको यस अभियानले विशेष गरी महिलाहरूको सक्रियतामा सांस्कृतिक पर्वहरूलाई प्रकृति संरक्षणको माध्यम बनाउने लक्ष्य राखेको छ ।

अभियानको उद्घाटन गर्दै नेपाली कांग्रेसकी मुख्य सचेतक वासना थापाले वातावरण संरक्षणलाई साझा जिम्मेवारीका रूपमा व्याख्या गर्दै पुनःप्रयोगको अभ्यासले समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताउनुभयो । जलवायु परिवर्तनले कुनै एउटा वर्ग वा समुदायलाई मात्र नभई सम्पूर्ण नागरिकलाई असर गरिरहेको सन्दर्भमा संरक्षित सम्पदा र हरित वातावरणले नै मानव जीवनलाई सुखद बनाउन सक्ने उहाँको तर्क थियो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले जलवायु परिवर्तनका असरहरू न्यूनीकरणका लागि संसद्मा प्रभावकारी नीतिगत र कानुनी प्रबन्ध मिलाउन आफूले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलवायु संकटको असर सबै वर्गमा परिरहेकाले यसलाई साझा सरोकारको विषय बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै, मधेसी आयोगकी सदस्य रेणु शाहले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय समस्या समाधानका लागि हरित अभियान, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव मधु घिमिरेले स्रोतसाधनको मितव्ययी प्रयोगमा जोड दिँदै थोरै वस्तुबाट बढीभन्दा बढी लाभ लिने गरी दिगो र जिम्मेवार उपभोगको अभ्यास विकास गर्नुपर्ने बताउनुभयो । साथसाथै फाउण्डेशनकी अध्यक्ष प्रजिता कार्कीले यो अभियान महिलावादी र जलवायु क्षेत्रमा कार्यरत संस्थाहरूको साझा प्रयास भएको उल्लेख गर्दै सचेतना फैलाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । सञ्चारकर्मी वविता बस्नेतले पनि प्लास्टिकजन्य फोहोर न्यूनीकरण र वातावरणमैत्री व्यवहारको विकासलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।

साथसाथै फाउण्डेशनले अन्तरपुस्ता नारीवादी मञ्च र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको यस कार्यक्रममा जनप्रतिनिधि, कलाकार, जलवायु अभियन्ता र स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो । बागमती प्रदेशबाट परीक्षणका रूपमा सुरु गरिएको यो अभियानले पुनःविचार, अस्वीकार, न्यूनीकरण, पुनःप्रयोग, मर्मत, पुनःउद्देश्यकरण र पुनर्चक्रण जस्ता सात आधारभूत मान्यतालाई आत्मसाथ गर्दै दिगो जीवनशैलीको सन्देश समुदायस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ । यस पहलले हाम्रा मौलिक चाडपर्वहरूलाई केवल उत्सवमा मात्र सीमित नराखी प्रकृति र मानव जीवनबीचको सन्तुलन कायम गर्ने एउटा महत्त्वपूर्ण कडीका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ  ।