नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्यमा ‘विजय विस्फोट’ नियुक्त: को हुन् १४ वर्ष कानुनी लडाइँ लड्ने यी रंगकर्मी?
भक्तपुर, २३ साउन । नेपाली रंगमञ्चमा चार दशकदेखि अनवरत सक्रिय रहँदै आएका वरिष्ठ रंगकर्मी जीतबहादुर देउजा (विजय विस्फोट) नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २२ गते उनलाई सदस्य पदमा नियुक्त गरेको हो ।
भक्तपुरका स्थायी बासिन्दा देउजा नेपाली रंगमञ्चमा ‘विजय विस्फोट’ का नामले परिचित छन् । आफ्नो ४० वर्षे रंगयात्रामा उनले नाटकमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने ‘प्रयोगधर्मी’ नाट्यकर्मीको छवि बनाएका छन् । विशेषगरी ‘विसंगतिवादी’ नाट्य शैलीलाई नेपाली परिवेशमा भित्र्याउन र स्थापित गर्न उनको महत्त्वपूर्ण योगदान रहेको छ । अभिनय र निर्देशन दुवै विधामा उत्तिकै दख्खल राख्ने उनी स्पष्ट र प्रखर वैचारिक रंगकर्मी मानिन्छन् ।
प्रतिष्ठानभित्रको बेथितिविरुद्ध १४ वर्ष कानुनी लडाइँ
देउजाको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिनुको मुख्य कारण उनले विगतमा संस्थागत सुधारका लागि गरेको संघर्ष हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएका भनिएका अवैधानिक नियुक्ति र प्रक्रियागत त्रुटिहरू विरुद्ध उनले करिब १४ वर्षसम्म अदालतमा कानुनी संघर्ष गरेका थिए । आफूले वर्षौंसम्म प्रश्न उठाएको र सुधारका लागि लडेको संस्थामा अहिले आफैँ नीति निर्माण तह (परिषद् सदस्य) मा पुग्नुलाई रंगमञ्च क्षेत्रले सुखद संयोगका रूपमा लिएको छ ।
सिर्जनाबाहेक देउजा नाट्यकर्मीहरूको हकहित र पेशागत सुरक्षाका लागि सङ्गठन निर्माणमा पनि उत्तिकै सक्रिय छन् । उनी नाट्यकर्मी महासंघका संस्थापक समेत हुन् । देशभरका रंगकर्मीलाई एउटै छातामुनि गोलबन्द गर्दै उनीहरूको अधिकारका लागि आवाज उठाउन उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रष्ट र खरो स्वभावका जुझारु रंगकर्मी देउजाको उपस्थितिले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कार्यसम्पादनमा थप ऊर्जा र पारदर्शिता थप्ने अपेक्षा नाट्य क्षेत्रका सरोकारवालाहरूले गरेका छन् ।