म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा सुक्खा पहिरो: विद्युत्गृह पुरिँदा एक जना बेपत्ता, एक घाइते
म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान सुक्खा पहिरो खस्दा एक जना कामदार बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा पुरिएर अन्नपूर्ण–६ निवासी ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका छन्। यस्तै, कैलालीको गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाले घाइते विकको उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि बेनीस्थित प्रदेश अस्पताल पठाइएको जानकारी दिनुभयो।
बेपत्ता बरुवालको खोजीका लागि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीको टोली परिचालन गरिएको छ। विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट खसेको ठूला ढुङ्गासहितको पहिरोले खोजी कार्यमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको यस आयोजनाको विद्युत्गृहमा पहिरोले ठूलो क्षति पुर्याएको छ। पहिरोले विद्युत्गृहभित्र रहेका महत्वपूर्ण मेसिनरी उपकरणहरू पुरेको छ। उपकरणमा क्षति पुगेसँगै १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।