लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला, एकको खोजी जारी
रौतहट, २७ साउन । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव फेला परेको हो।
घटनास्थलभन्दा करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा दुवै शव फेला परेको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम गर्नका लागि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा टोली खटिएको डीएसपी गौतमले जानकारी दिनुभयो।
बेपत्ता भएका अर्का एक बालबालिकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको टोली नदी तटीय क्षेत्रमा निरन्तर परिचालित छ।