वीरगन्जमा अवैध औषधि उत्पादन गर्ने फर्म सञ्चालक पक्राउ

काठमाडौँ, साउन २९ । पर्साको वीरगन्जमा अनुमतिबिना अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन र लेबलिङ गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका ११ श्रीपुरस्थित आरपी फार्मास्युटिकल्स प्रालिमा अवैध रूपमा औषधि उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी फर्म सञ्चालक राहुलकुमार चौहानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, प्रहरी नायब उपरीक्षक राजु कार्की र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगर नेतृत्वको संयुक्त टोलीले सो फर्ममा जाँच तथा खानतलासी गरेको थियो । खानतलासीका क्रममा कानुनी अनुमतिबिना नै औषधिजन्य वस्तुहरू उत्पादन गरी स्टिकर लेबलिङ भइरहेको फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले फर्मबाट अवैध रूपमा उत्पादित औषधिजन्य सामग्री र अन्य आवश्यक प्रमाणहरू समेत बरामद गरेको छ । पक्राउ परेका सञ्चालक चौहानलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि हाल वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । औषधि जस्तो संवेदनशील क्षेत्रमा विना इजाजत कार्य गर्नेहरू विरुद्ध प्रहरीले निगरानी र कारबाही तीव्र पारेको प्रवक्ता मल्लले जानकारी दिनुभयो ।