देशभर बदली र वर्षाको सम्भावना, ६ प्रदेशमा भारी वर्षाकाे सम्भावना
काठमाडौँ, २ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको नजिक रहेकाले मनसुनी गतिविधि थप सक्रिय भएको हो।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानकै आसपास रहे पनि पश्चिमतर्फ भने सरदर स्थानभन्दा केही उत्तर (नेपाल नजिक) सरेको छ। यसकै प्रभावले हाल पश्चिम नेपालका विभिन्न भागमा वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी भू-भागका धेरै स्थानमा र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, उच्च हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना छ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने आज हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर बदलीकै अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई भेगका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ। हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको क्रम राति पनि जारी रहनेछ।
भारी वर्षा र हावाहुरीका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न महाशाखाले सबैमा आग्रह गरेको छ। विशेष गरी पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव तथा तराई र नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी सूचनामा नियमित अद्यावधिक रहन अनुरोध गरिएको छ।