मिथिलामा दाम्पत्य प्रेमको उत्सव: १३ दिने ‘मधुश्रावणी’ पर्व आज समापन हुँदै

महोत्तरी, ३० साउन । मिथिलाञ्चल क्षेत्रका नवविवाहिता महिलाहरूले आफ्नो दाम्पत्य जीवनको सुख र पतिको दीर्घायुको कामना गर्दै मनाउने प्रसिद्ध ‘मधुश्रावणी’ पर्व आज विधिवत् रूपमा समापन गर्दैछन्। साउन कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको यो १३ दिने लामो अनुष्ठान साउन शुक्ल तृतीयाका दिन आज सम्पन्न हुन लागेको हो।

विवाहको पहिलो वर्ष मनाइने यो पर्वमा नवविवाहिता मिथिलानीहरू माइतीघरमा बसेर पूजाआजा गर्छन्। यसका लागि आवश्यक नयाँ वस्त्र, आभूषण र खाद्य सामग्री पति र ससुराली पक्षबाट पठाइने परम्परा छ। १३ दिनसम्म चल्ने यो पर्वले मैथिल संस्कृतिमा पारिवारिक सद्भाव र नवदम्पतीबीच भावनात्मक सम्बन्ध बलियो बनाउने विश्वास गरिन्छ।

मधुश्रावणीको एउटा विशिष्ट र केही कठोर विधि ‘टेमी’ हो। परम्पराअनुसार १२औँ दिनको राति बर्तालुको देब्रे घुँडामा कपासको बत्ती बालेर डाम्ने चलन छ। डामिएको ठाउँमा फोका उठेमा पति–पत्नीबीचको प्रेम प्रगाढ हुने जनविश्वास रहिआएको छ। यद्यपि, आधुनिक समयसँगै नयाँ पुस्ताका मिथिलानीहरूले यो विधिमा परिमार्जन गरेका छन्। अचेल बत्तीले डाम्नुको सट्टा शीतल चन्दनको लेप लगाउने चलन बढेको छ। “घुँडा डाम्नुभन्दा श्रद्धा ठुलो हो, त्यसैले हामीले चन्दन लगाउने संस्कार सुरु गरेका हौँ,” गौशाला–१२ की सुनिता महतो भन्नुहुन्छ।

पर्व अवधिभर भगवान् शिव, देवी गौरी र विषहराको पूजा गरिन्छ। पूजाका लागि अघिल्लो दिनको साँझपख सखीसहेलीहरूसँग मिलेर गीत गाउँदै फूल र बेलपत्र सङ्कलन गर्ने विधिलाई ‘फूललोढी’ भनिन्छ। शिव र गौरीलाई बासी फूल चढाउनु यो पर्वको अर्को रोचक विशेषता हो। समापनका दिन यी सबै सामग्रीलाई पवित्र नदी वा तलाउमा विसर्जन गरिन्छ।

पर्वका क्रममा घरका ज्येष्ठ महिलाले बर्तालुहरूलाई मैना पञ्चमी, विहुला, सती र समुद्र मन्थन जस्ता पौराणिक कथाहरू सुनाउने गर्छन्। विशेष गरी सर्पको भयबाट मुक्त हुन र सुखी गृहस्थ जीवनका लागि यो कथा श्रवण गर्ने गरिन्छ।

पहिले केही खास जातिमा मात्र सीमित रहेको यो पर्व अहिले मिथिलाका सबै समुदायमा साझा बनेको छ। मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झा मुत्तिका अनुसार वर्षायामको यो मौसम प्रकृति र मानव दुवैका लागि प्रणय सम्बन्धको समय मानिने भएकाले मधुश्रावणीको महत्व अझ बढेको हो। आज समापनका दिन मिथिलाका टोल–टोलमा नवविवाहिताहरूका नयाँ पहिरन, सामूहिक गायन र हासपरिहासले विशेष रौनक छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *