प्रहरीले खानतलासी सुरु गरेपछि मोरङ कारागारमा तनाव: कैदीबन्दी छतमा चढेर प्रदर्शनमा

विराटनगर, १ भदौ । मोरङको विराटनगरस्थित जिल्ला कारागारमा सोमबार बिहानैदेखि तनाव उत्पन्न भएको छ। प्रहरीले कारागारभित्र आकस्मिक खानतलासी सुरु गरेपछि आक्रोशित कैदीबन्दीहरूले कारागारको छतमा चढेर विरोध प्रदर्शन गरेका हुन्।

विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा सोमबार बिहान करिब ५ बजेदेखि प्रहरी टोली खानतलासीका लागि भित्र पसेको थियो। प्रशासनले कारागारभित्रको सुरक्षा जाँचसँगै त्यहाँ रहेका विवादास्पद नाइके अभिषेक गिरीका सहयोगीहरूलाई अन्यत्र स्थान्तरण (सरुवा) गर्ने तयारी गरेपछि स्थिति बिग्रिएको हो।

प्रहरीले कारागारको ‘ब्लक बी’ मा खानतलासी सुरु गर्नासाथ त्यहाँका कैदीबन्दीहरूले अवरोध पुर्‍याएका थिए। उनीहरूले प्रशासनले आफूहरूलाई बारम्बार दुःख दिने गरेको र अनावश्यक रूपमा सरुवा गर्न खोजेको आरोप लगाउँदै नाराबाजी गरिरहेका छन्।

कारागारभित्र तनाव बढेपछि मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कटेल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितको टोली कारागार पुगेको छ। अहिले कारागार परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कैदीबन्दीहरू छतमा बसेर प्रदर्शन गरिरहेका कारण स्थिति नियन्त्रणमा लिन र खानतलासी प्रक्रिया अघि बढाउन प्रहरीलाई सकस भइरहेको छ। अभिषेक गिरीलाई यसअघि नै मोरङ कारागारबाट सरुवा गरिएको भए पनि उनका सहयोगीहरूले कारागारभित्र आफ्नो ‘दबदबा’ कायम राख्न खोज्दा पटक-पटक यस्ता झडप र विवाद हुने गरेको छ।

अहिले कारागार बाहिर र भित्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले प्रदर्शनकारी कैदीबन्दीहरूसँग संवादको प्रयास गरिरहेको जनाएको छ।