मोदी खोलामा भीषण बाढी: झिनुस्थित तीनवटा तातोपानी कुण्ड र भौतिक संरचना बगायो
कास्की, २ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदी खोलामा आएको भीषण बाढीले प्रसिद्ध तातोपानी कुण्ड र त्यहाँका अन्य भौतिक संरचनाहरू बगाएको छ। अविरल वर्षापछि गत साउन २८ गते आएको बाढीले खोला किनारमा रहेका संरचनामा ठुलो क्षति पुर्याएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार बाढीले सिमेन्ट, ढुङ्गा र बालुवाबाट निर्मित तीनवटा तातोपानी कुण्ड पूर्ण रूपमा बगाएको छ। कुण्डसँगै रहेको एउटा शौचालय र टिनले छाएको एउटा चेन्जिङ रुम (कपडा फेर्ने कोठा) समेत बाढीले नामनिसान नरहने गरी बगाएको छ।
तातोपानी कुण्ड आसपास मानव बस्ती नरहेकाले घटनाको पाँच दिनपछि मात्रै आज (मङ्गलबार) बिहान प्रशासनलाई जानकारी प्राप्त भएको थियो। सूचना पाउनासाथ प्रहरी चौकी घान्द्रुकबाट प्रहरी हवल्दार राजेश भैया थारुको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको निरीक्षण गरेको छ। बाढीले भौतिक संरचना नष्ट गरे पनि मानवीय क्षति भने नभएको प्रशासनले पुष्टि गरेको छ।
सहायक प्रजिअ बरालले भन्नुभयो, “भौगोलिक विकटता र सडक अवरुद्ध भएका कारण सूचना ढिलो प्राप्त भएको हो। प्रहरीले क्षतिको विस्तृत विवरण सङ्कलन सुरु गरिसकेको छ।”
अन्नपूर्ण पदमार्गमा जाने पर्यटकहरूका लागि झिनुको तातोपानी कुण्ड प्रमुख आकर्षणको केन्द्र थियो। तर, बाढीले बीरेठाँटी–घान्द्रुक सडक बगाएपछि अहिले सो क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको छ। पर्यटकहरूको आवागमन ठप्प भएकाले पनि क्षतिको खबर ढिलो गरी बाहिर आएको हो।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मोदी खोलाको कटानले बीरेठाँटीमा करिब १०० मिटर कालोपत्रे सडक बगाएको छ। उक्त सडक खण्ड खुलाउन आजैदेखि नेपाली सेनाको सहयोगमा पुनःनिर्माण कार्य सुरु गरिएको छ। बाढी र पहिराले बीरेठाँटी, चिम्रुङ र हाइजुङलगायतका आसपासका क्षेत्रमा पनि ठुलो क्षति पुर्याएको अध्यक्ष केसीले जानकारी दिनुभयो।