सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, नेपाल-भारत विद्युत् व्यापार सम्झौता पेस गरिँदै
काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ। आजको बैठकमा सरकारले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता सदनमा पेस गर्नेदेखि विभिन्न महत्वपूर्ण विधेयकहरू अघि बढाउने कार्यसूची रहेको छ।
बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता’ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यो सम्झौतालाई नेपालको ऊर्जा निर्यात र आर्थिक विकासका लागि निकै महत्वपूर्ण मानिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ।
यता अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मन्त्रीहरूसँगको प्रश्नोत्तरलाई प्राथमिकता दिइएको छ। परराष्ट्र, कानुन र पर्यटन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यक्रम छ।
यस्तै, अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।