शंखमुलको भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहारबाट घाइते युवकको मृत्यु, एक जना पक्राउ
काठमाडौँ, ५ भदौ । काठमाडौँको शंखमुलस्थित एक होस्टलमा भएको आपसी झगडामा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–१०, शंखमुलमा रहेको ‘भ्याली ब्वाइज होस्टल’ मा बस्ने दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो। उनलाई सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २ वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए।
घटनामा टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीलाई तत्काल उद्धार गरी उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याएलगत्तै उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शेखर यादवलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। वारदातपछि फरार रहेका अर्का अभियुक्त प्रमित पटेलको खोजी कार्य तथा घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।