भाद्र कृष्ण अष्टमी: देशभर ‘अँध्यारी गौरा’ एवं ‘दुर्वाष्टमी’ पर्व मनाइँदै

काठमाडौँ,  भदौ १९ । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक सांस्कृतिक पर्व ‘अँध्यारी गौरा’ तथा ‘दुर्वाष्टमी’ आज उमा–महेश्वरसहित दुबोको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ । विशेषगरी चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने यो पर्व यस वर्ष कृष्ण पक्षमा परेकाले यसलाई ‘अँध्यारी गौरा’ भनिएको हो ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ। शुक्ल पक्षमा मनाइने गौरालाई ‘उज्याली’ र कृष्ण पक्षमा मनाइनेलाई ‘अँध्यारी’ भन्ने गरिन्छ। पहिलो पटक व्रत बस्नेहरूका लागि भने उज्याली गौराबाटै व्रत सुरु गर्नुपर्ने नियम रहेको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गरेको कठोर तपस्या र त्यसपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । गौरा पूजाका लागि कुश, काँस, सामा (सौँ), तीतेपाती, अपामार्ग र कतै तिलको बिरुवा प्रयोग गरी देवीको प्रतिमा तयार पारिन्छ। यसरी बनाइएको देवीलाई अष्टमीका दिन भित्र्याएर वर्तालुहरूले निराहार बसी श्रद्धापूर्वक पूजा गर्दछन् ।

यस पर्वको मुख्य आकर्षण ‘बिरुडा’ हो। भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडागुडी भिजाएर राखिन्छ, जसलाई अष्टमीका दिन प्रसादका रूपमा चढाइने र वितरण गरिने देउडा संस्कृतिविद् एवं गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो। पूजा सम्पन्न भएपछि मङ्गल र शनिबार बाहेकको दिन पारेर देवीलाई पवित्र जलाशयमा विसर्जन गर्ने गरिन्छ।

दुर्वाष्टमीको महत्व
आजकै दिन दुबोको विशेष पूजा गरिने भएकाले यसलाई ‘दुर्वाष्टमी’ पनि भनिन्छ। दुबो जसरी मौलाउँछ, त्यसरी नै सन्तान र वंश विस्तार होस् भन्ने कामनाका साथ उमामहेश्वरको उपासना गरिन्छ। सन्तानको सुस्वास्थ्य, दीर्घायु र गुण सम्पन्नताका लागि यो व्रत बस्ने धार्मिक विश्वास छ। यद्यपि, अष्टमीका दिन ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको छ ।

पछिल्लो समय सुदूरपश्चिम र कर्णालीबाट काठमाडौँ आएर बसोबास गर्नेहरूको सङ्ख्या बढेसँगै राजधानीको टुँडिखेललगायतका स्थानमा पनि यो पर्व धुमधामका साथ मनाउन थालिएको छ । गौराको अवसरमा देउडा खेल र गीतका माध्यमबाट सामाजिक सद्भाव र सांस्कृतिक मनोरञ्जन समेत गर्ने गरिन्छ ।