देवीघाटस्थित तादी खोलामा नेपाली सेनाद्वारा ‘एक्रोब्रिज’ जडान कार्य तीव्र
काठमाडौँ, भदौ २१ । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका ८ जिलिङ जोड्ने तादी खोलामा नेपाली सेनाले ‘एक्रोब्रिज’ जडानको कार्यलाई तीव्र गतिमा अघि बढाएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण तादी खोलाका दुईवटा पक्की पुलमा क्षति पुगेपछि अवरुद्ध भएको नुवाकोट धादिङ सडक सम्पर्कलाई पुनः सञ्चालन गर्न सेनाले यो पहल थालेको हो ।
नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डा अन्तर्गतको ‘ब्रिजिङ युनिट’ ले निर्माण गरिरहेको उक्त पुल पाँच दिनभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । पुल निर्माण टोलीको नेतृत्व गरिरहनुभएका सेनानी चिरिञ्जीवी चौलागाईंका अनुसार शनिबारदेखि सुरु भएको निर्माण कार्यमा ५५ जना प्राविधिकको टोली चौबिसै घण्टा खटिएको छ ।
प्राविधिक विशेषता र क्षमता
देवीघाटमा जडान भइरहेको पुल ५७.५ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको रहेको छ । यो पुल सामान्य ‘बेलीब्रिज’ भन्दा अत्याधुनिक, गुणस्तरीय र उच्च भारवहन क्षमताको हुने सेनाले जनाएको छ । अमेरिकी प्रविधिमा आधारित उच्च गुणस्तरको ग्याल्भानाइज्ड स्टिलबाट निर्मित यो पुलले ७० टनसम्मको भार वहन गर्न सक्ने क्षमता राख्दछ । सेनानी चौलागाईंका अनुसार यो पुल बेलीब्रिजको तुलनामा तीन गुणा बढी बलियो र टिकाउ मानिन्छ ।
कनेक्टिभिटी र आगामी योजना
बाढीका कारण नुवाकोट र रसुवा जोड्ने पुलहरूमा क्षति पुगेपछि प्राविधिक अध्ययनपश्चात् पहिलो प्राथमिकतामा देवीघाटलाई राखिएको हो । देवीघाटको पुल सम्पन्न भएलगत्तै नुवाकोट र रसुवाको सीमा क्षेत्र वेत्रावतीमा पनि अर्को एक्रोब्रिज जडान गर्ने सेनाको योजना छ । धादिङको गजुरीस्थित भैरव गणमा मौजुदा रहेका तीन थान पुलमध्येबाटै आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा पनि जडान गरिने जानकारी दिइएको छ ।
यद्यपि, निर्माण सामग्री गजुरीबाट काठमाडौँ हुँदै नुवाकोट ल्याउनुपर्ने भएकाले ढुवानीमा केही कठिनाइ देखिएको छ । ढुवानी र कार्यस्थलमा थप अवरोध नभएमा तोकिएको पाँच दिनभित्रै यातायात सुचारु हुने विश्वास गरिएको छ । यस पुलको निर्माणसँगै धादिङको गल्छी हुँदै नुवाकोटको सदरमुकाम विदुरसम्मको यातायात सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ ।