उखु किसानको सधैंको पीडा : उद्योगले भुक्तानी नगर्दा ऋण लिएर गर्जो टार्नुपर्ने बाध्यता
सर्लाही, २४ भदौ । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि वर्षौंदेखिको गलपासो बन्दै आएको छ। गत यामको उखु उद्योगलाई बेचेका किसानले छ महिना बितिसक्दा पनि रकम नपाएपछि गम्भीर समस्यामा परेका छन्। धन्कौल गाउँपालिका–२ स्थित अन्नपूर्ण चिनी उद्योगले गत यामको उखु खरिदको भुक्तानी अझै किसानलाई दिन बाँकी छ।
धन्कौल गाउँपालिका–३ का कैलाश पासवानले उद्योगलाई बुझाएको ३०० क्विन्टल उखुको आंशिक रकम मात्र प्राप्त गरेको बताए। उनले ५० कट्ठा जमिनमा उखु खेती गरेका छन्, जसमध्ये २० कट्ठा आफ्नै र बाँकी ठेक्कामा लिएको हो। उखु बेचेको पैसा समयमै पाए ठेक्का रकम पनि तिर्न सजिलो हुने उनले बताए। तोकिएको समयमा ठेक्का रकम नबुझाए साहुलाई थप ब्याज तिर्नुपर्ने चिन्ता उनले व्यक्त गरे।
“घरको सम्पूर्ण खर्च खेतीबाटै धान्नुपर्छ,” उनले भने, “छोराछोरीको पालनपोषण, शिक्षा, चाडपर्व सबै उखु बेचेको पैसाबाटै टार्नुपर्छ। तर उद्योगले वर्षैपिच्छे झूटो आश्वासन दिँदै दुःख दिने गरेको छ।” हालै छोरीको विवाह गरेका पासवानले पैसाको अभावमा साहुमहाजनसँग सयकडा तीन प्रतिशत ब्याजदरमा ऋण लिनुपरेको बताए।
उनले उद्योगबाट अझै ५६ हजारभन्दा बढी रकम पाउन बाँकी रहेको जनाए। भुक्तानीको टुंगो नलाग्दा आफू उखु खेतीबाटै निराश बनेको उनले बताए। उद्योगबाट पैसा असुल्दा हुने दुःख सम्झेर उनले ४०० क्विन्टल उखु नगदमै बेचेको बताए। नगद कारोबारमा बिचौलियाले प्रतिक्विन्टल रु. ३५ देखि ४० सम्म कम मूल्यमा किनेर आफ्नै नाममा उद्योगलाई बिक्री गर्ने गरेको र यसबाट किसानले पाउनुपर्ने अनुदान समेत दुरुपयोग हुने गरेको उनको भनाइ छ।
धन्कौल–२ का पाँचु सहनीको पनि खेतीपातीबाहेक आयको अर्को स्रोत छैन। ठेक्कामा लिएको जमिनमा उखु खेती गरी उद्योगलाई बेच्ने गरेका उनले सुरुमा स्थानीयलाई फाइदा हुने भनी सञ्चालनमा आएको उद्योगले बारम्बार ठगेको गुनासो गरे। उक्त उद्योगले उनको २०७४ सालको उखु बिक्रीको केही भुक्तानी अझै दिन बाँकी छ, जुन समयमा नै उद्योग धरासायी बनेको थियो।
सुरुका उद्योगपतिले उद्योग नै बेचिदिएपछि किसानहरूले दुःख भोग्नुपरेको सहनीले बताए। “माग्न जाँदा २०७४ सम्मको भुक्तानी पुरानो मालिकले नै गर्ने हो भनियो, तर पछि विवरण फेला परेन भन्दै दिइएन,” उनले भने। त्यसपछि उनले रौतहट र सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा उखु बेच्न थालेका थिए। तर यस वर्ष उद्योगले मिलगेट क्षेत्र तोकी अन्यत्र काँटा नराख्ने सहमति गरेपछि बाहिरी उद्योग यहाँ आएनन्।
फलस्वरूप बाध्य भएरै अन्नपूर्णलाई उखु दिनुपरेको सहनीले जनाए। उनले यसपटक बुझाएको झन्डै ५०० क्विन्टल उखुको भुक्तानी अझै पाउन बाँकी छ। नजिकैको हरिवनस्थित उद्योगले उखु बिक्रीको १५ दिनभित्रै भुक्तानी गर्दा अन्नपूर्णले भने ढिलाइ गरी दुःख दिने गरेको उनको गुनासो छ। अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा ३,१८६ जना किसानबाट ९ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु खरिद तथा क्रसिङ गरेको थियो।
उखु खरिदबापत हुने कुल रु. ६१ करोड ६१ लाख २७ हजार ६५५ मध्ये उद्योगले किसानलाई अझै करिब रु. २२ करोड भुक्तानी गर्न बाँकी रहेको देखिन्छ। किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानबिन समितिले सोही रकम बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरिसकेको छ।
यता उद्योग प्रशासनले भने दैनिक रूपमा किसानको भुक्तानी गरिरहेको दाबी गरेको छ। उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले भुक्तानी बाँकी रहेको स्वीकार गर्दै कात्तिक मसान्तभित्र सक्ने योजना रहेको र दसैंअघि नै भुक्तानी पूरा गर्ने गरी काम भइरहेको बताए। तर हालसम्म कति रकम किसानको खातामा दाखिला भइसकेको हो भन्ने ठ्याक्कै तथ्यांक उनीसँग रहेन।
भुक्तानी नपाएका किसानको उजुरीपछि उद्योग मालिक शैलेन्द्र गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत सर्लाहीको पक्राउ पुर्जीका आधारमा पक्राउ परेका गुप्तालाई उद्योगमा मौज्दात रु. ११ करोड बराबरको चिनी बिक्री गरी बाँकी रकम बैंकबाट ऋण लिएरै भए पनि दसैंसम्म किसानको खातामा जम्मा गर्ने शर्तमा रिहा गरिएको थियो। यस विषयमा सहजीकरण गरेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष श्यामबाबु रायले जानकारी दिए।
तर स्थानीय किसानहरू भने उद्योगले सहमत शर्त पूरा गर्ला कि नगर्ला भन्नेमा आशंकित छन्। अहिलेसम्म कुनै ठोस पहल नदेखिएको भन्दै चाडपर्वको बेला पैसा पाइएला कि नपाइएला भन्ने त्रासमा रहेको उनीहरूको प्रतिक्रिया छ। किसानले उत्पादन गरेको फसलको बजार र उचित मूल्यको दिगो सुनिश्चितता राज्यले नै गरिदिनुपर्ने उनीहरूको माग छ।
उखु बिक्री गरेको छ महिनाभन्दा बढी बितिसक्दा पनि भुक्तानी नपाउँदा दैनिक घरखर्च धान्न, मलखाद तथा कामदार व्यवस्थापनजस्ता काममा समेत समस्या भएको किसानको गुनासो छ। रगतपसिना बगाएर उत्पादन गरेको फसलको पैसा उद्योगले नदिँदा, रोग लागे उपचारका लागि समेत ऋण खोज्नुपर्ने जर्जर अवस्थामा आफूहरू रहेको अर्का किसान धीरु बर्माले बताए। किसान मारेर देशको विकास सम्भव नहुने सर्लाहीको बागमती नगरपालिका–११ का नप्लकण्ठ देवकोटाको भनाइ छ।