एसिसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र ओमान बीच आज प्रतिस्पर्धा
काठमाडौँ, भदौ २५ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको निर्णायक मोड अन्तर्गत आज नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सेमिफाइनलमा ओमानको सामना गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘ए’ बाट विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले फाइनलमा स्थान सुरक्षित गर्न समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले समूह चरणमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो भने हङकङसँग हार बेहोर्नु परेको थियो ।
समूह चरणमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहे पनि ब्याटिङतर्फ केही चुनौतीहरू देखिएका छन्। क्रिकेट विश्लेषक रवि तिमिल्सिनाका अनुसार नेपालले सेमिफाइनलमा जित निकाल्न ब्याटिङमा थप सुधार र एकाग्रता देखाउनु आवश्यक छ। “समूह चरणमा अपेक्षा गरिएअनुसार ब्याटिङ चल्न सकेको थिएन, त्यसैले ओमान जस्तो बलियो टोलीसँगको खेलमा ब्याटिङ पक्ष नै नेपालका लागि निर्णायक बन्न सक्छ,” उहाँले बताउनुभयो ।
नेपाल र ओमानको ऐतिहासिक भिडन्त
नेपाल र ओमानबीचको विगतको तथ्याङ्क हेर्दा ओमान केही बलियो देखिएको छ । हालसम्म यी दुई टोलीबीच भएका १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा ओमानले ६ खेलमा जित निकालेको छ भने नेपालले ४ खेल मात्र आफ्नो पक्षमा पारेको छ।
यद्यपि, पछिल्लो समय नेपालको प्रदर्शन ओमानविरुद्ध सुधारिएको छ । गत मे महिनामा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले ओमानलाई ८१ रनको सानदार अन्तरले पराजित गरेको थियो । आजको खेलमा पनि सोही लय र आत्मविश्वासका साथ मैदान उत्रिएर फाइनलमा पुग्ने नेपालको योजना रहेको छ ।
यस खेलको विजेताले उपाधिका लागि फाइनलमा स्थान बनाउनेछ, जसले नेपाली क्रिकेट प्रेमीहरूमा थप उत्साह जगाएको छ ।