वि.सं. २०८४ को पात्रो प्रकाशनका लागि पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौँ, भदौ २६ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विक्रम संवत् २०८४ सालको पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न इच्छुक पञ्चाङ्गकारहरूका लागि आवेदन आह्वान गरेको छ। समितिले आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणितीय विवरण पेस गर्न सूचना जारी गरेको हो ।

समितिका अध्यक्ष सह-प्रा.डा. पुरुषोत्तम भट्टराईका अनुसार, पञ्चाङ्गको मुख्य खण्ड ‘सौरोक्त पद्धति’ र अन्य ग्रहहरूको गणना ‘केतकीय पद्धति’बाट गरिएको हुनुपर्नेछ । वि.सं. २०८३ को पात्रोका लागि पनि यही पद्धति अवलम्बन गरिएको थियो ।

नयाँ पञ्चाङ्गकारका लागि कडा नियम
नयाँ पञ्चाङ्गकारका रूपमा आउन चाहने व्यक्तिहरूले वि.सं. २०८४ देखि २०८६ सम्मको तीन वर्षको हस्तलिखित गणितीय मस्यौदा (खेस्रा) र गणनाका सबै आधारभूत प्रमाणहरू अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

भित्तेपात्रो (क्यालेन्डर) लाई पनि अनिवार्य स्वीकृति
समितिले पात्रो मात्र नभई भित्तेपात्रो प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले पनि समितिको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। तोकिएको म्याद नाघी आएका, प्रक्रिया नपुगेका र स्वीकृत पद्धतिविपरीत गणना गरिएका पञ्चाङ्गहरूलाई मान्यता नदिइने समितिले स्पष्ट पारेको छ ।

नियम उल्लंघन गरे कारबाही हुने
समितिले निर्धारण गरेका चाडपर्व, जात्रा र तिथिमितिभन्दा फरक विवरण राखी भ्रम सिर्जना गर्ने गरी प्रकाशन गरिएका पञ्चाङ्ग तथा भित्तेपात्रोहरूमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

समितिको यस कदमले तिथिमिति र चाडपर्वमा एकरूपता कायम हुने र सर्वसाधारणमा पर्न सक्ने अन्योल हट्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *