बिरामी छोडेर पैसाको खोज्न जानु नपरोस् भनेर जलन उपचार निःशुल्क गर्न कोषमा सहयोग गरेका हौँः कावा मेयर डंगोल

काठमाडौँ, २६ भदौ । काठमाडौं महानगरपालिकाले लक्षित वर्गका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ । विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ । निःशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट) बीच एक सम्झौता भएको छ ।

साथै उपचारका लागि प्रयोग हुने औजार, उपकरण तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ।

जसमध्ये ‘जलन उपचार कोष’मा १ करोड रुपैयाँ रहनेछ । उपचारका लागि लक्षित वर्गलाई यही कोषबाट प्रति बिरामी २ लाख रुपैयाँसम्म खर्च ब्यहोरिनेछ । सोही कोषमा जम्मा गरिएको रकम, यस आर्थिक वर्षमा खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलन उपचारकै लागि प्रयोग हुनेछ ।

कार्यक्रममा महानगरपालिका कार्यबाहक प्रमुख सुनिता डंगोलले कसैलाई पैसाको अभावमा जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बताउनुभयो । ‘बल्लबल्ल अस्पताल पुर्‍याएपछि बिरामी छोडेर पैसाको खोज्न जानु नपरोस्, यससका लागि कोषको व्यवस्था गरेका हौँ,’ उहाँले भन्नुभयो ।