इन्डोनेसियामा यात्रुवाहक पानीजहाज डुब्दा १४० जना अझै बेपत्ता

 

काठमाडौं । इन्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक पानीजहाज डुब्दा १४० जना अझै बेपत्ता भएका छन्। जहाजमा सवार २४३ जनामध्ये १०३ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जनाको मृत्यु भएको खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज आइतबार बिहान सञ्चालकसँगको सम्पर्कविहीन भएको थियो। जहाज शनिबार जाभा द्वीपको सुराबायाबाट बन्जारमासिनतर्फ प्रस्थान गरेको थियो।

स्थानीय खोज तथा उद्धार कार्यालयका प्रमुख इ पुतु सुदायानाका अनुसार जहाज खराब मौसमका कारण समस्यामा परेको थियो। जहाजको अन्तिम अवस्थिति बन्जारमासिनबाट करिब ८१ समुद्री माइल अर्थात् १५० किलोमिटर टाढा जाभा समुद्रमा रहेको जनाइएको छ।

बेपत्ता यात्रु तथा चालक दलका सदस्यको खोजीका लागि उद्धार टोलीले उद्धार जहाज र हेलिकोप्टर परिचालन गरेको छ। तर, समुद्रमा २.५ मिटर (करिब ८.२ फिट) सम्म अग्ला छाल उठेकाले खोजी तथा उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

सुदायानाले खराब समुद्री अवस्थाका कारण उद्धार कार्य अत्यन्त जोखिमपूर्ण रहेको बताए। उनका अनुसार ४० मिटर लामो राष्ट्रिय खोज तथा उद्धार एजेन्सीको जहाजसमेत ठूलो जोखिममा परेको छ।

इन्डोनेसियामा पछिल्लो समय समुद्री दुर्घटनाका घटना दोहोरिँदै आएका छन्। गत महिना बाली र लोम्बोकबीच सञ्चालनमा रहेको एक फेरीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको थियो भने पाँच जना बेपत्ता भएका थिए। त्यस्तै, जुलाईमा ७० जनाभन्दा बढी यात्रु बोकेको फेरी दक्षिण सुलावेसीनजिक सेलयार द्वीप आसपास डुबेको थियो।