‘मैले देख्दा त अहिलेको सरकार ‘छापा–मार’ सरकार जस्तो देख्छुः ओली
काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ । एमाले मुख्यालयमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘मैले देख्दा त अहिलेको सरकार ‘छापा–मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन ‘छापा, मार् सरकार’ । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ उहाँले भन्नुभयो ।
सञ्चार जगतले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताउनुभयो । उहाँले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने उहाँले उल्लेख गर्नुभयो ।
इतिहास सुनाउँदै अध्यक्ष ओलीले भन्नुभयो ‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’
आन्दोलनरत पत्रकारहरूलाई हरेस नखान आग्रह गर्दै उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितांश स्मरण गराउनुभयो– नलडी कोही हुन्न विजेता । उहाँले भन्नुभयो ‘तपाईँहरूले सम्झौता गर्नुभयो वा पछि हट्नुभयो भने अधिकार पाइँदैन । त्यसैले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’
आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभयो । उहाँले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै नघट्ने बताउनुभयो ।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पार्टीका प्रमुख सचेतक तथा सांसदहरूको समेत उपस्थिति रहेको थियो। अध्यक्ष ओलीले संसद् बैठक सुरु हुनेबित्तिकै सञ्चार जगतका यी समस्या र लोककल्याणकारी विज्ञापनको विषयलाई पार्टीका तर्फबाट जोडदार रूपमा उठाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।