स्वतन्त्रता विरोधी शक्ति अन्ततः पराजित हुन्छः ओली

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको पार्टी भएकाले आगामी दिनमा पनि त्यसका लागि लडाइँ जारी राख्ने बताउनु भएको छ ।

आइतबार ललितपुरस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा छापा माध्यमका पत्रकारहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष ओलीले स्वतन्त्रताको लडाइँ अझै समाप्त नभएको बताउनु भएको हो। अध्यक्ष ओलीले विभिन्न समयमा लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप हुने प्रयास भए पनि त्यसविरुद्ध एमालेले संघर्ष जारी राखेको उल्लेख गर्नुभयो।

‘हाम्रो पार्टी स्वतन्त्रताका निम्ति लड्दै आएको हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो संघर्ष कहिलेकाहीँ धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला, तर अहिले फेरि स्वतन्त्रता रोक्ने कोसिस भइरहेको छ।’ अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सबै सचेत नागरिक एकजुट हुनुपर्ने धारणा राख्नुभयो।

अध्यक्ष ओलीले वर्तमान सरकारका गतिविधि प्रतिगामी र स्वतन्त्रता विरोधी रहेको आरोप लगाउँदै यस्ता प्रवृत्ति लामो समय टिक्न नसक्ने बताउनुभयो। राणा शासन र राजतन्त्रकालीन शासन व्यवस्थाको उदाहरण दिँदै उहाँले स्वतन्त्रता विरोधी शक्ति अन्ततः पराजित हुने दाबी गर्नुभयो ।

‘अबका प्रतिगामी, स्वतन्त्रता विरोधी र संकिर्णतावादी कदमहरू लामो समयका लागि टिक्न सक्दैनन्’ अध्यक्ष ओलीले भन्नुभयो, ‘इतिहासले पनि त्यस्ता प्रवृत्तिहरूको अन्त्य भएको देखाइसकेको छ।’ अध्यक्ष ओलीले लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको पक्षमा एमाले दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।