‘डरले होइन, नागरिक चेतनाले विधिको पालना गर्ने सहर बनाउनुछ’ – कार्यवाहक प्रमुख सुनिता डंगोल
काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँलाई डर वा त्रासका आधारमा नियम मान्ने सहर नभई नागरिक चेतना र जिम्मेवारीका आधारमा स्वतः विधिको पालना गर्ने सहरका रूपमा विकास गरिने बताउनुभएको छ। महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
समारोहमा कार्यवाहक प्रमुख डंगोलले सहरी सुव्यवस्थापन र शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरूसँगको समन्वयलाई थप सुदृढ बनाइने उल्लेख गर्नुभयो । “महानगर प्रहरी अब प्रविधिमैत्री र अझ बढी नागरिक केन्द्रित हुनेछ,” उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य कानुन कार्यान्वयन र अनुशासनमा कठोर तर हृदयमा मानवीय संवेदनशीलता बोकेको प्रहरी बल निर्माण गर्नु हो।”
सो अवसरमा उहाँले नयाँ सडकस्थित नेपाल वायु सेवा निगमको जग्गामा बहुुले पार्किङ निर्माणका लागि सरकारसँग अनुमति मागिएको र सहरी डुबान समस्या समाधानका लागि ‘वाटर रिचार्ज सिस्टम’ मा लगानी बढाइएको जानकारी दिनुभयो।
सुरक्षा निकाय र प्रशासनको ऐक्यबद्धता
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सहरी सुव्यवस्थापनमा महानगर प्रहरीले आफ्नो विशिष्ट पहिचान स्थापित गरिसकेको बताउनुभयो। त्यसैगरी, महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक सुशिलसिंह राठौर र सशस्त्र प्रहरी नायव महानिरीक्षक माधव प्रसाद पौडेलले सुरक्षा निकाय र महानगरबीचको बलियो समन्वयले सेवा प्रवाह प्रभावकारी भएको उल्लेख गर्नुभयो।
सुशासन समितिका संयोजक ख्यामराज तिवारीले ‘महानगर प्रहरी ऐन २०८०’ जारी भएसँगै प्रहरीको कार्यशैली र क्षेत्राधिकार स्पष्ट भएको र उनीहरूको वृत्ति विकासमा महानगर गम्भीर रहेको बताउनुभयो। विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले राजनीतिक नेतृत्वको नीति कार्यान्वयनमा प्रहरीको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो।
कलाकार र अभियन्ताको सुझाव
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नियमको पालना गर्नु नै वास्तविक ‘स्मार्ट’ हुनु रहेको बताउँदै चोभारको पानी निकास क्षमता बढाउन अध्ययन गर्न सुझाव दिनुभयो। अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले महानगरले गरिरहेको सम्पदा पुनस्र्थापना र फल्चा निर्माणको प्रशंसा गर्दै नागरिकले पनि सहरको संरक्षणमा देवता जस्तै भूमिका निभाउनुपर्ने बताउनुभयो । कलाकार जीतु नेपाल र सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले पनि महानगरको छवि सुधार्न नागरिक दायित्वको महत्वमा जोड दिनुभयो ।
महानगर प्रहरी सम्मान तथा पुरस्कार
वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको छ ।
महानगर प्रहरी गौरव पुरस्कार : नगर प्रहरी सहायक निरीक्षक सुजाता लुङ्गेली (रु. ३०,०००)
उत्कृष्ट महानगर प्रहरी पुरस्कार : नगर प्रहरी वरिष्ठ नायव निरीक्षक पुनम महर्जन डंगोल र नगर प्रहरी जवान नौसाद अन्सारी (जनही रु. २०,०००)
महानगर प्रहरी पुरस्कार : नगर प्रहरी जवानहरू जनकराज भट्ट, ललिता कार्की र विक्रम सुनार (जनही रु. १०,०००)
साथै, वरिष्ठ नायव निरीक्षक राजेन्द्र गजुरेल र सहायक निरीक्षक गम्भीर थापा मगरलाई १ ग्रेड थप गरी सम्मान गरिएको छ।
ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्था
वि.सं. २०५० भदौ १४ गते २१९ जनाको दरबन्दीबाट सुरु भएको नगर प्रहरी सेवालाई २०७७ सालमा ‘महानगर प्रहरी बल’ का रूपमा विकास गरिएको थियो। हाल महानगर प्रहरीले अनधिकृत अतिक्रमण हटाउने, हरियाली प्रवर्धन, विपद व्यवस्थापन, पार्किङ व्यवस्थापन र सम्पदा सुरक्षा जस्ता २८ बुँदे कार्यक्षेत्रमा काम गरिरहेको छ । सेवालाई प्रभावकारी बनाउन काठमाडौँलाई पूर्व, पश्चिम, उत्तर र मध्य गरी ४ क्षेत्रमा विभाजन गरेर परिचालन गरिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।
